काठमाडौँ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान पौने १० बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो ।
उहाले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताउनुभयो ।
विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आएको खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको बताउनुभएको छ ।
यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।
हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।