काठमाडौँ – नेपालमा पछिल्लो दुई दिनमा कोरोनो भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भएको छ। मृत्यु हुने सबै चारजना पर्सा जिल्लाका स्थायी बासिन्दा हुन्।
तीनजनाको पर्सामै मृत्यु भएको हो भने एकजनाको ललितपुर स्थित पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ५६ वर्षका पुरुषको बिहीबार राति मृत्यु भएको हो । उनी मुटुका रोगी थिए। साउन ६ गते कोरोना पुष्टि भएपछि गण्डक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उनी वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओ समेत हुन्।
यस्तै वीरगञ्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको पनि बिहीबार साँझ नै मृत्यु भएको छ । गत साउन ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो।
उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा रिपोर्ट आउनु अघि नै बिहीबार साँझ मृत्यु भयो ।यस्तै वीरगञ्ज महानगरपालिका – २ का ६५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । उनमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको हो।
६५ वर्षका उनी आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए। यस्तै वीरगञ्ज महानगरपालिका – ११ स्थायी घर भइ धसिखेल ललितपुरमा बसोबासरत ६५ वर्षीया महिलाको शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनी मधुमेह तथा प्रेसरकी बिरामी थिइन् । उनलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौँ ल्याइएकोमा शुक्रबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५६ पुगेको छ ।