काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ । अर्को बैठक असोज २२ गतेका लागि तोकिएको छ ।
नेकपा एमालेका सांसद्हरुले आजको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेराउ गर्न अघि बढेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले भने सभा नियमित प्रक्रियामा प्रवेश गरेर आफ्नो कुरा अनुरोध गर्नुभएको थियो । उहाले नियमित अवरोध गरिरहँदा संसद्प्रति वितृष्णा बढ्न सक्नेमा सचेत गराउनुभएको थियो । उहाले बैठक सञ्चालनमा सहयोगको अपेक्षा गरेको भए पनि एमालेको अवरोध रोकिएन । उनीहरुले ’कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन’, ’यथास्थितिमा संसद् चल्न सक्दैन’ लगायतका केही हप्तायता लगाइरहेका नाराहरु दोहोर्याएका थिए ।
अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्न समय दिनुभएको थियो । मन्त्री कार्कीले प्रतिवेदन पेश गर्नुभएको छ ।
एमालेले गत भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनदेखि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरिरहेको छ ।