काठमाडौँ । साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ ।
अघिल्लो दिनको तुलनामा यो करिब २.६१ प्रतिशतले कम हो । आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ ।
कारोबार रकम भने सोमबारको भन्दा केही सुधार देखिएको छ । सोमबार ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
आज पनि कारोबार भएका सबै समूहको शेयर घटेकोमा फाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १५ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ ।
समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।