काठमाडौँ – नेपालका शीर्ष नेताहरुले राजनीतिक दलका जिम्मेबार नेताहरुबाटै संविधानको रक्षा हुन नसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको पाँचौ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रक्षक नै भक्षक हुँदा संविधान कार्यान्वयनमा समस्या पैदा भएको चर्चा गर्नुभयो ।
संविधानले व्यवस्थाको बाटो बनाइदिए पनि त्यो बाटोमा मुलुकलाई डो¥याउने जिम्मा पाएकाहरुले सही दिशा समात्न नसकेको उहाँले बताउनुभयो ।
अहिले सत्तारुढ दलका नेताहरुले नै संविधान संशोधनको मुद्दा उचालेर जनतामा निराशा पैदा गर्न खोजेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ लक्षित हुँदै उहाँले संविधानमा नभई नेताहरुको मष्तिष्कमा कमजोरी रहेको बताउनुभयो ।
केही दिनअघि प्रचण्डले संविधान संशोधनका लागि सडक आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभएको थियो । त्यसको जवाफमा कांग्रेस वरिष्ठ नेता पौडेलले संविधान संशोधनको मुद्दा उचालेर जनतालाई उत्तेजित पार्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले उत्कृष्ट संविधान निर्माण हुँदा पनि त्यसको सफल कार्यान्वयन नभए मुलुकले विकासको गति लिन नसक्ने बताउनुभयो ।
अहिले नेपालमा जनताको जीवनस्तर उकास्ने भन्दा पनि नेताका परिवार र गुटलाई मात्रै अवसर दिने परिपाटी सिर्जना भएको बताउनुभयो ।
जनताको जनजीविकामा परिवर्तन नभए उत्कृष्ट संविधानले मात्रै केही नहुने उहाँले बताउनुभयो ।
नेपालका नेताहरु परिवारवाद भन्दा माथि उठ्न नसकेका कारण संविधानको सफल कार्यान्नवयमा चुनौती थपिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संविधान कार्यान्नवयको विषयलाई लिएर वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र संविधानसभाका अध्यक्ष समेत रहनुभएका एमाले नेता सुवासचन्द्र नेम्वाङबीच रोचक घोचपेच चलेको थियो ।
श्रेष्ठले संविधानसभाको अध्यक्ष रहेका नेम्वाङले असंवैधानिक तवरबाट संसद विघटन हुँदा चुइक्क बोल्न नसकेको बताउनुभयो ।
दुई–दुई पटक असंवैधानिक तवरबाट संसद विघटन गरेर संविधानमाथि प्रहार हुँदा नेम्वाङले झन उल्टो कुरा गरेको देख्दा आफूहरुलाई धेरै दुःख लागेको उहाँले बताउनुभयो ।
जवाफमा नेम्वाङले संसद विघटन गर्ने कुरा कानुनी रुपमा ठिक नरहेको कुरा आफूले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई स्पष्टसँग भनेको जिकिर गर्नुभयो ।
यद्यपि तत्कालीन प्रधानमन्त्री ओली र आफ्नो पार्टीले विघटन रोजेपछि आफूलाई उक्त कुरामा २ सय प्रतिशत विश्वास लागेको पनि नेम्वाङले बताउनुभयो । उक्त विषय अदालतमा विचाराधीन रहेकोले आफूले कुनै टिप्पणी नगरेको पनि उहाँले बताउनुभयो ।
केपी ओलीले दुई पटक असंवैधानिक रुपमा संसद विघटन गर्दा पनि सार्वजनिक रुपमा संविधानको रक्षाका लागि नबोलेको भन्दै नेम्वाङको आलोचना हुने गर्छ ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले दुई–दुई पटकको विघटनमा पनि नेम्वाङले ओलीको साथ दिएका दोहो¥याउनुभयो । उहाँले दल र दलका नेताहरुको कारण संविधान कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।
तर एमाले नेता नेम्वाङले धुमधाम आलोचना हुने गरे पनि दलहरुकै कारण मुलुक अहिलेको स्थितिसम्म आइपुगेको दाबी गर्नुभयो ।
अहिलेका उपलब्धीहरु दलहरुकै संघर्षको उपज रहेको उहाँले बताउनुभयो । कमिकमजोरीका बाबजुद अहिलेको उपलब्धीको जस पनि दलहरुले लिन पाउनुपर्ने नेम्वाङको तर्क थियो ।
नेपालका राजनीतिक दलहरुकै संघर्षका कारण मुलुकमा अहिले जनताका प्रतिनिधिले लेखेको संविधान छ, र यहि संविधान बमोजिम मुलुक चलिरहेको छ ।
तर संविधानको सफल कार्यान्वयन गर्नुको साटो यसको घाँटी निमोठ्ने काम पनि दलका नेताहरुबाटै भएको सत्य हो ।
त्यसैले व्यवस्था परिवर्तनका लागि पटक–पटक संघर्ष भइसकेको मुलुकमा अब जनताको अवस्था परिवर्तनका लागि पनि संघर्ष गर्नुपर्ने बेला आएको छ ।