काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले एमसीसीका नाममा राष्ट्रियतामाथि हमला भइरहेको बताएको छ ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो ।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन–चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताउनुभयो । उहाँले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाउनुभयो ।
सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरुले यसलाई पास गर्नुपर्ने भनिरहेको उहाँले बताउनुभयो । प्रवक्ता प्रकाण्डले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो ।
‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ, एमसीसीको मुद्दा मुखरित भएर, आजको तीन, चार वर्ष अगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो, त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो, अर्थमन्त्रीमा हालका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो’ प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘नेपाली जनताले अहिलेसम्म त्यसको बिरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ, यदी पास भएमा हाम्रो नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन ।’
सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताएँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक संकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताउनुभयो । उहाँले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताउनुभयो ।। देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले आगामी २८ गते काठमाडौंमा वृहत प्रदर्शन हुँने भन्दै एमसीसी पास नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो ।
प्रवक्ता प्रकाण्डले सरकारले यदी मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिनुभयो । एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताएँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा काँग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले एमसीसी पास गरे आगामी संसदीय चुनाव खरानी भएर जनमत संग्रह हुने बताउनुभयो ।