काठमाडौँ । युवा गजलकार नवराज पौडेलको पहिलो गजलसङ्ग्रह ‘छ्हारी’ लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रतिष्ठानका प्राज्ञ सदस्य शशि लुमुम्वु, गजलकार तथा आख्यानकार जितेन्द्र रसिक, त्रिपुरा पौडेल सर्जक रमेश पौडेल लगायतले सङ्ग्रहको लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा बोल्नुहँदै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले छहारी गजल सङ्ग्रह सार्वजनिक गरेर गजलको समुन्द्रमा पाइला हालेका नवराज पौडेललाई गजल क्षेत्रको चुनौती सामान गर्दै अघि बढ्न तयार हुन आग्रह गर्नुभयो ।
गजल क्षेत्र फराकिलो बन्दै गएको र अब गजलको संरचनागत बहस सकिसकेकाले अबको गजल सृजनामा गुणात्मकतामा ध्यान दिनु जरुरी रहेको बताउनु भएकाे छ । त्यस्तै प्राज्ञ सदस्य शशि लुमुम्बुले गजलकार पौडेलको आगमनलाईं स्वागत गर्दै अबका दिनमा नेपाली गजल क्षेत्रमा युवा गजलकारहरूको भूमिका शसक्त हुनुपर्नेतर्फ औंल्याउनु भयो । गजलकार तथा आख्यानकार जितेन्द्र रसिकले गजलको छहारीमा ओत लाग्न आइपुगेका नवराज पौडेललाई अब गजलमालीहरूले संरक्षण गर्दै अगाडीको बाटो फराकिलो बनाउन अघिल्लो पुस्ताका गजलकारहरूको कर्तव्य रहने बताउनु भएकाे छ ।
त्यस्तै समालोचक केशव दंगालले गजलको क्षेत्र कठिन रहेकाले अब गजलमा आउने नयाँ सर्जकहरूले आफूलाई गजलकारकै रुपमा उभ्याउने क्षमता तयार गरेर आउनु पर्ने बताउनु भयो । कवि तथा सञ्चारकर्मी रमेश पौडेलले छहारी गजल सङ्ग्रह विगत एक वर्ष अगाडी नै तयार भएको भए पनि कोरोना भाइरसका कारण एक वर्षपछिमात्र बजारमा आउन सफल भएको बताउनु भयो ।
सङ्ग्रहको आवरण कलासमेत सर्जक रमेश पौडेलकै रहेको छ । समारोहमा आफ्नो मन्तव्य राख्दै लेखक पौडेलले आफू भिन्न प्रकृतिको पेशामा लागेर देश र जनताको सेवामा आवद्ध भएता पनि आफ्नो रुचि लाई न मारेको बताउनुभयो । गजलकार पौडेलले ‘मैले बिगत केही बर्षदेखि लेखेको मेरा भावरुपि रचनालाई यस छहारी गजल सङ्ग्रह मार्फत तपाईं सम्पुर्ण पाठक सामु लिएर आएको छु। यो गजल सङ्ग्रह मेरो पहिलो प्रयास भएको र अगामी दिनमा पनि बन्दुक बोकेर राष्ट्रको सेवामा मात्र नभई कलम चलाएर तपाईंहरु सामु छिटै अर्को कृति लिएर आउने बाचा गर्छु’, भन्नुभएकाे थियाे ।
यस गजल सङ्ग्रहको मूल्य दुई सय रुपैयाँ रहेको छ भने ८१ वटा गजलहरु समावेस गरिएको छ । गजलसङ्ग्रह छहारीलाई थानेश्वर पौडेलले प्रकाशन गर्नुभएको हो । छहारी गजल सङ्ग्रह आवरण सहित ९६ पृष्ठमा छ । गजलकार पौडेल पाल्पा रामपुर नगरपालिका गण्डकी ढिकका जन्म भएको हाे। उहाँ हाल नेपाल प्रहरी सेवा अन्तर्गत गृह मन्त्रालयमा कार्यरत हुनुहुन्छ । कार्यक्रम काे स्वागत मन्तब्यमा बाेल्दै अनन्या पाेखरेल ले लेखक लाई धन्यवाद ज्ञापन प्रदान गर्नुभएको थियाे ।