काठमाडौं – अहिले बजारमा प्रकाश सपुतले सिर्जना गरेको एउटा तीजगीत चर्चामा छ । ‘कुरा बुझ्नु पर्च’ शीर्षकको उक्त गीत युट्युवमा सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा आयो । उक्त गीत अहिलेसम्म पनि ट्रेन्डिङको शीर्षस्थानमै छ ।

‘कुरा बुझ्न पर्च’ गीतमा महिलाको आत्मसम्मान र स्वतन्त्रताको विषयलाई उठान गरेको प्रकाश बताउँछन् । ‘यस गीतले लैङ्गिक स्वतन्त्रता, आत्मविश्वास र आत्मनिर्भरका कुरालाहरुलाई कोट्याँउन खोजेको छ’, उनी भन्छन् ।
यो गीतमा प्रकाशको आवाज भने छैन । गीतको शब्द, संगीत र भिडियो अवधारणा एवं निर्देशन उनको हो । भिडियोको अन्त्यमा भनें उनी एक झलक उनी देखिएका छन् । शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वरमा यो गीत सजिएको छ । भिडियोमा स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्रीद्वय स्वस्तिमा र आँचललाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ ।
प्रकाश यस्ता गायक र सर्जक हुन् उनले गाएका वा सिर्जना गरेका हरेकजसो गीत दर्शक–स्रोताले रुचाउने गरेका छन् । उनी हरेक गीत फरक तरिकाले गर्न रुचाउँछन् । प्रायः लोकलयमा आधारित गीत सिर्जना गर्न रुचाउने प्रकाशले दोहोरी ब्याटल पनि गर्न भ्याएका छन् ।
त्यस्तै, प्रकाशका ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि होइनर यो देश’जस्ता सिर्जना अत्यधिक रुचाइएका छन् । र, अहिले आएर ‘कुरा बुझ्नु पर्च’ लोकप्रिय बनेको छ ।
समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा उतार्र्न पोख्त प्रकाशका यसअघिका प्राय सबै गीत सन्देशमुलक छन् । ‘पहिले–पहिले कसरी हुन्छ बढी चर्चा पाऊँ भन्ने भोक थियो भने अहिले चाहिँ त्यो भोक छैन’, उनी भन्छन्, ‘अहिले चाहिँ मेरा सिर्जनाहरुले यो समाजलाई प्रतिबिम्बित गर्दियोस्, मेरा सिर्जनाहरु सुनिसकेपछि मान्छेहरुमा एक कीसिमको भावना पैदा होस्, त्यसले केहि समय भए पनि उनीहरुको मानसिकतामा र शरीरमा तरंग पैदा होस् भन्ने हेतुले काम गर्छु । त्यसैले, पनि पछिल्लो समयमा राम्रो भइरहेको छ ।’

नेपाली गीतसंगीत क्षेत्रमा प्रकाशले दुईवटा छाप छोडेको विश्लेषण गरिन्छ । पहिलो, विषयवस्तु उठान गर्र्ने कलाकार र दोस्रो, समाजको जिम्मेवारी निर्वाह गर्दै समाजका विषयवस्तुहरुलाई अगाडि ल्याउने । शायद, अहिले उनका पछिल्ला सिर्जनाले पनि यी दुई छापलाई मर्न दिएको छैन ।
प्रकाशले सिर्जना गरेको गीतको सबभन्दा सबलपक्ष कथावस्तुअनुसारको भिडियो हो । किनकि, प्रकाशको गीत सुनेर मात्र पर्याप्त हुन्न । उनले भिडियो कथामार्फत समाजमा बढी सन्देश प्रवाह गर्ने गर्छन् । उनले गीत र भिडियो दुवैमा सिर्जनशीलताको भरपुर प्रयोग गरेका हुन्छन् । गीतको भिडियोमा कथा भन्ने उनको शैलीलाई आफ्ना हरेक कार्यमा उनले निरन्तरता दिएका हुन्छन् । उनका गीतिका भिडियो हेर्दा पूरै चलचित्र हेरेको भानसमेत हुन्छ । उनी जुन गीतलाई राम्रो बनाउने सोच राख्छन्, त्यसमा उनी आफैंले शब्द लेख्ने, आफँै गाउने, निर्देशन गर्नेलगायत सबै गर्दै आएका छन् ।

प्रकाश आफ्ना गीतमा समेटिएका कथाहरुलाई नयाँ मान्दैनन् । ‘यी सबै कथा हाम्रो समाजका उपज हुन्, मैले त्यसलाई गीतमा बुझेँ । कसैले यसलाई आफन्तको पीडाको रुपमा बुभ्mछन् होला । र, कसैले समाचारको रुपमा त कसैले आफ्नो भोगाइको रुपमा बुझछन् होला’, उनी भन्छन्, ‘मलाई लाग्छ यी कथाहरु नयाँ होइनन् । अरुले जसरी नै मैले पनि महसुस गर्छु । फरक यति हो म त्यसलाई आफ्नो सिर्जनामार्फत प्रस्तुत गर्छु ।’

प्रकाश ‘दोहोरी ब्याटल’बाट पनि त्यस्तै चर्चित छन् । उनले ‘दोहोरी ब्याटल’मार्फत थुप्रै युवाहरुको मन जितेका छन् । कुन समय कस्तो सिर्जना ल्याउने, अडियन्सको मुड कस्तो छ भनेर ख्याल गर्दै प्रकाशले समय सान्दर्भिक विषयवस्तुमा फरक खालको स्वाद दिने गर्दछन् ।
‘मनोरञ्जन दिनु कलाकारको प्रमुख धर्म हो, मनोरञ्जन दिने क्रममा कहिलेकाँही नामको भोकमा पनि त्यस्ता सिर्जनाहरु जन्मेका हुन्’, दोहोरी ब्याटलबारे उनी भन्छन्, ‘नेपालमा सबैखाले जीवनशैलीमा बाँच्ने मानिस भएकाले ‘दोहोरी ब्याटल’को पनि छुट्टै महत्व छ ।’

गीत–संगीतबाट सफल भएका प्रकाशले नाम मात्र कमाएका छैनन् उनी आर्थिक र सिर्जनात्मक रूपमा पनि अहिले राम्रो अवस्थामा भएको स्वीकार्छन् ।