काठमाडौँ – प्रधानमन्त्रीबाट बर्खास्त भएपछि पहिलो पटक संसदमा सम्बोधन गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरुप्रति ‘आक्रमण’ गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा संसदमा बोल्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डसहित आफ्नै पार्टीका नेता माधवकुमार नेपालमाथि प्रहार गर्नुभएको हो ।
ओलीले सरकारको साझा न्यूनतम कार्यक्रमप्रति टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाउनुभयो ।
उहाँले १६५ जनाको जत्था बोकेको सरकारले एमसीसी के गर्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नुभयो । ‘एमसीसी पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने’, ओलीको प्रश्न थियो ।
सत्ता गठबन्धनलाई हिर्काउने क्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि कडा प्रहार गर्नुभयो । ओली सरकार ढालेपछि संसदमा बोल्दै प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिनुभएको थियो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरु युद्ध हारेर संसदीय पद्धतिमा आएका मान्छे नभएको बताएपछि प्रचण्डले आगोसँग नखेल्न चेतावनी दिनुभएको थियो ।
प्रचण्डले आफू आगो रहेको बताएको प्रसंगमा ओलीले उहाँ आगो नै रहेको र विगतमा देशमा डढेलो लगाएको कुरा आफूलाई जानकारीमा रहेको बताउनुभयो । ओलीले त्यस्तो आगो निभाउन पनि आफूहरुलाई राम्रोसँग आउने बताउनुभयो ।
देउवा र दाहाललाई आक्रमण गरिसकेपछि ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि छुटाउनुभएन । संसदमा ओलीले माधव नेपालको नाम नलिएरै आफ्नो पार्टीका केही सांसदलाई मन्त्री बनाईदिन प्रधानमन्त्री देउवालाई व्यङ्ग्यात्मक आग्रह गर्नुभयो ।
दुई हात जोडेर बिन्ती बिसाउँदै ओलीले आफ्नो पार्टीमा केही घाटा भए पनि सहन तयार रहेको तर मन्त्री नपाएर हिरिक हिरिक भएकाहरुको उद्धार गरिदिन देउवालाई आग्रह गर्नुभयो ।
ओलीले आफू डेढ वर्षपछि फेरि असाधारण बहुमतका साथ मुलढोकैबाट सत्तामा फर्किने दाबी पनि गर्नुभयो । एमसीसीका बारे आफूले बोलेका कुराहलाई भिडियो क्लिप बनाएर बदनाम गर्ने प्रयास गरिएको पनि ओलीको आरोप थियो ।
उहाँले एमसीसी पास गर्नुपर्छ भन्ने कांग्रेसको अनुहार न्यूनतम साझा कार्यक्रममा नदेखिएको बताउनुभयो । यो सरकारले एमसीसी के गर्छ जनता जान्न चाहन्छन् भन्दै ओलीले गरेको प्रश्नको ठोस जवाफ सत्ता गठबन्धनका नेताहरुसँग छैन ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले एमसीसीबारे सरकारले आवश्यक छलफल गर्ने विश्वास व्यक्त गर्नुभयो । न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय नपरेकोबारे उहाँले प्रष्ट जवाफ दिनुभएन ।
यता अर्काे सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमसीसीबारे सहमति हुन बाँकी नै रहेको बताउनुभयो । दलहरुबीच सहमति नहुँदै उक्त विषय न्यूनतम साझा कार्यक्रममा पर्ने कुरा नहुने उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री रहँदा संसदलाई सम्बोधन गर्दै यही संसदबाट एमसीसी पारित गर्नुपर्ने जिम्मेबारी रहेको बताउनुभएको थियो । तर ओली सत्तामा रहँदा एमसीसी प्रस्तावले संसदमा प्रवेश पाएन ।