काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २६३ जनाको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२६ जनामा गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा पीसीआर परीक्षणबाट देखिएका कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ भने एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकाको कुल संख्या ६१ हजार ३५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेहरुको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक १३ हजार ५१९ जनाको परीक्षण हुँदा हालसम्म कुल ३९ लाख २१ हजार ८३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।