काठमाडौं – शुक्रबार साँझ पूर्वयुवराज पारस शाह महाराजगञ्जस्थित नारायण गोपाल चोकमा विनाहेल्मेट मोटरसाइकल चलाइरेहका भेटिए । त्यसपछि उनलाई सो क्षेत्रमा खटिएको ट्राफिक प्रहरीले समातेको थियो । त्यसपछि उनले प्रहरीमाथि अभद्र व्यवहार गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशाक सिंहको भनाइ छ ।
त्यस्तै, पारसले सोक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको भिडियो पनि सार्वजनिक भएको छ । उनले आफूले कहिल्यै हेल्मेट नलगाइ मोटरसाइकल हाक्ने गरेको बताइरहेको भिडियोमा देख्न सकिन्छ ।
हुन पनि पूर्वयुवराज पारस अधिकांश ठाउँमा उनले चलाउने गरेको कालो मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन् ।
भिडियोमा एकजना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ । तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका छन् ।
प्रहरीका अनुसार पारसले मादकपदार्थ सेवन गरेर मोटरसाइकल हाँकिरहेका थिए ।
तर उनले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेको भिडियोमा देख्न सकिन्छ ।
वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पारसलाई एकपटकका लागि ‘सम्झाएर’ छोडिएको छ । यद्यपि, बाँकी कारवाहीको प्रक्रिया अघि सारिने बताइएको छ ।