काठमाडौं – नागरिक दैनिकमा कार्यरत आधा दर्जन पत्रकार काठमाडौंको बाघदरबारमा रहेको केन्द्रीय कार्यालयअगाडि धर्नामा बसेका छन् ।
नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध भएका ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन् ।
धर्नामा बस्ने पत्रकारमा पाँचथरका नेपाल पत्रकार महासंघ अध्यक्ष गिरिराज बाँस्कोटा र सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीलगायत छन् । यी पत्रकारहरुले बुधबारदेखि धर्ना दिइरहेका छन् ।
ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका उपाध्यक्ष वीरेन्द्र ओलीलगायतको टोली बिहीबार धर्नास्थल पुगेको थियो ।

धर्नामा बसेका पत्रकारहरुका अनुसार धर्नाअघि इमेल, जिल्ला ब्युरो, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, रिपब्लिक मिडियाको मानव संशाधन शाखालाई ध्यानाकर्षण पत्र पठाइएको थियो ।
साउन १० गतेभित्र सबै पारिश्रमिक भुक्तानी नगरिए ११ गतेबाट कार्यालयमा धर्ना एवम् तालाबन्दीलगायतका कार्यक्रम गर्ने जानकारी गराइएको थियो ।
तर, प्रधानसम्पादक गुणराज लुइँटेल र मानव संशाधनका कर्मचारीबाट कुनै सुनुवाइ नभएको र प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीलाई भेट्न खोज्दा पनि समय नदिएको उनीहरुको गुनासो छ ।