काठमाडौँ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिनुभयो।
नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नुभएको छ ।
आज करिब चार घण्टा बसेको बैठकमा क्रियाशील सदस्यताकै विषयमा छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो।
भोलि २ बजे पुनः पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने उहाँले बताउनुभयो।
करिब ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसले अझै केही जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। कांग्रेस महाधिवेशन आउन अब ३५ दिनमात्रै बाँकी छ भने ८ वटा तहमा अधिवेशन हुने छ।