हेटौंडा – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्योगले तिर्न बाँकी ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छिन् । विद्युत प्राधिकरणले आइतबार केन्द्रीय कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।
अघिल्लो हप्ता मन्त्रालयको जिम्मेवारी सम्हालेकी भुसालले यस्तो निर्देशन दिएपछि राज्यलाई कर नतिर्ने ५८ वटा उद्योगका मालिकलाई ठूलो झड्का लागेको छ ।
मन्त्री भुसालको यो निर्णयलाई सर्वसाधारणले स्वागत् गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।
मन्त्री भुसालले २०७२ सालदेखि खटिएका बितरण केन्द्रका प्रमुखलाई खटाएर भए पनि सम्बन्धित वितरण केन्द्रहरूले ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन सक्ने बताइन् । उनले देशभित्र आन्तरिक उत्पादन बढेकाले विद्युत खपतको क्षेत्र खोज्नु पर्नेमा समेत जोड दिइन् ।
हाल नेपाल मा ५८ उद्योगले डेलिकेटेडलाइन प्रयोग गरेबापतको विद्युत महसुल बुझाएका थिएनन् ।
मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टले डेलिकेटेड लाइन प्रयोगगरी विद्युत प्राधिकरणलाई दुई अर्ब ३७ करोड ७० लाख एक सय पचासी रुपैयाँ तिर्न बाँकी छ । उक्त बक्यौता रकम असुल गर्न सर्वोच्च अदालतले फैसला गर्दासमेत शिवम् सिमेन्टले अदालतको फैसलालाइसमेत अटेर आएको छ ।

विद्युतको महसुल दर सस्तो हुँदा खपत दर बढ्ने मन्त्री भुसालको भनाइ छ । अहिले पनि १८ प्रतिशत् जनता गरिबीको रेखामुनि रहेको बताउँदै भुसालले यो जनसंख्याको आधारभुत आवश्यकता पूरा हुने गरी प्राधिकरणले निशुल्क विद्युत दिनुपर्नेमा उनले जोड दिइन् ।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तोकिएको समयमा बक्यौता रकम नबुझाए लाइन काटिने बताइसकेका छन् ।
मन्त्री भुसालको निर्देशनलाई विद्युत प्राधिकरणले पालना गर्छ कि पुन सेटिङ मै रमाउँछ त्यो भने हेर्न बाँकी रहेको सर्वसाधारणहरु बताउँछन् ।