हेटौंडा – मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई पाँच वर्षदेखि विद्युत महसुल तिरेको छैन । तिर्न बाँकी दुई अर्ब ३४ करोड पसगसेको छ । तत्काल महसुल नबुझाए विद्युतलाइन नै काटिदिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताइरहेका छन् ।
यता, प्रधानमन्त्री शेरबहादुर देउवा भने जसले राज्यलाई त्यति ठूलो रकम तिरेको छैन उसैको कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रममा गएका छन् ।
हालै भएको नेपाल उद्योग परिसंघको १८ आँै साधारण सभामा प्रधानमन्त्री देउवा प्रमुख अतिथि भएर गएका थिए । उद्योग परिसंघका अध्यक्ष पाँच वर्षदेखि विद्युत महसुल नतिर्ने शिवम् सिमेन्टका मालिक सतीशकुमार मोर हुन् ।

विद्युत महसुल नतिर्ने व्यवसायीको कार्यक्रममा स्वयम् प्रधानमन्त्री नै प्रमुख अथिति भएको भन्दै अहिले धेरैले आपत्ति जनाइरहेका छन् । देउवाले मोरलाई संरक्षण गरेको उनीहरुको आरोप छ । प्रधानमन्त्री जानी–जानी वा अन्जानवश सो कार्यक्रममा गएको हो त्यसको जवाफ आउनुपर्ने सर्वसाधारणको माग छ ।
शिवम् सिमेन्टले विद्युत प्राधिकरणलाई तिर्न बाकी रहेको दुई अर्ब ३४ करोड विद्युत महशुल उठाउनु भनी सर्वोच्च अदालतले फैसला गरेको पनि दुई वर्ष बितिसकेको छ । यद्यपि, शिवम् सिमेन्टले हालसम्म पनि विद्युत महसुल तिरेको छैन ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला पनि शिवम् सिमेन्टका मालिक मोर उनीसँगै विदेश भ्रमणमा जाने गरेका थिए । अहिले देउवाले जस्तै सो वेला ओलीले मोरलाई संरक्षण गरेको जानकारहरु बताउँछन् ।
‘सतीशकुमार मोरले राजनीतिक संरक्षणकै कारण यतिका वर्ष (पाँच वर्ष)सम्म विद्युत महसुल नजिरेका हुन्’, विद्युत प्राधिकरण, हटौंडाका एक कर्मचारी भन्छन् ।