हेटौंडा – मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्ट लिमिटेडले २०६४ सालदेखि अव्यवस्थित तरिकाले खानी सञ्चालन गर्दै आएको पाइएको छ । जसले गर्दा मकवानपुरका धेरै बस्ती डुबानको खतरामा परेको छ ।
मकवानपुरको गढी गाउँपालिका ७ मा उत्खनन गरेको कलवान खानी, खोटार खानी र चपकी खानी अव्यवस्थित उत्खनन गर्दा मकवानपुरका हुलाकदमार बाँध, दुम्रेकुना, झल्ला, बागदली, धादिङको सिमल्टारलगायतका बस्तीका सयौँ घर डुबानको खतरामा परेको स्थानीयहरु बताउँछन् ।
शिवम् सिमेन्टले खानी उत्खनन्को बहानामा मनपरीतन्त्र गरिरहँदा पनि सरोकारवाला निकाय मौन रहनुले स्थानीयमा पीडा थपिएको छ । शिवम् सिमेन्टले प्राप्त गरेको भोगाधिकारभन्दा बाहिर पनि उत्खनन् गरेको र त्यसलाई रोक लगाउन सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीहरुको गुनासो छ । उलल्टै स्थानीय सरकार शिवम्कै बचाउमा लागेको उनीहरु बताउँछन् ।

स्थानीयस्तरको विकास–निर्माणको काममा अवरोध गर्ने, जथाभावी उत्खनन गरेर सयौं रुख–बिरुवा नस्ट गर्दासमेत हटौंडाको भिभिजन वन कार्यालय भने मौन बसेको स्थानीयहरु बताउँछन् ।
‘डिभिजन बन कार्यालयको यो शैलीले सानालाई ऐन र ठूलालाई चैन भन्ने उखानको चरितार्थ गरिदिएको छ’, एक स्थानीयले भने ।
शिवम् सिमेन्टले खानी सञ्चालन र भोगाधिकार लिँदा उत्खनन्स्थलको ओभर बडेन व्यवस्थामपन गर्ने लिखित सम्झौंता नै गरेको छ । उक्त कुरालाई इआइए रिपोर्टमासमेत उल्लेख गरिएको छ । तर, अहिले उसले कुनै पनि खानी उत्खनन् गर्दा निस्केको ओभर बडेनलाई ब्यबस्थापन नगरी उत्खनन गरेको पाइएको छ । उक्त ओभर बडेनका कारण सयौं रुस–बिरुवा पुरिएकाले भूक्षयको खतरा बढेको र बस्तीसमेत जोखिममा परेको सो क्षेत्रका बासिन्दाको गुनासो छ ।
‘शिवम् सिमेन्टले खानी सञ्चालन अनुमति लिँदा चरी–चरण पानीका मुहानलगायतका विषयमा कुनै असर नगर्ने सम्झौता गरेको थियो’, एक स्थानीय गुनासो गर्छन्, ‘तर, हाल उक्त भेगमा शिवम् सिमेन्टको ओभर बडेनका कारण न चरी–चरण छ न त पानी का मुहान नै ।’

यसबारेमा डिभिजन वन कार्यालय, हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्यायलाई कुरा गर्दा उनी उस्टै शिवम् सिमेन्टको बचाउमा लागे ।
‘यो विषयमा पहिला पनि कुरा चलेको थियो । शिवम् सिमेन्टले खानी उत्खनन् गर्दा ढुङ्गा कम निस्केको र ओभर बडेन बढी निस्केका कारण व्यवस्थापन गर्न नसकेको मात्र हो’, उनले भने ।