Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
देउवालाई विश्वासको मत :

नेपाल पक्ष छुट्टै छलफलमा, सांसदबीच मत बाझियो

नेपाल पक्ष छुट्टै छलफलमा, सांसदबीच मत बाझियो

  • आइतवार, श्रावण ३ २०७८

  • 1.8K
    SHARES

  • नेपाल पक्ष छुट्टै छलफलमा, सांसदबीच मत बाझियो

    काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपालको समूह छुट्टै छलफलमा जुटेको छ ।

    च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक जारी रहेकै बेला नेपाल पक्षले आन्तरिक छलफल सुरु गरेको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ ।। देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे सामूहिक निर्णय गर्न नेपालपक्ष छलफलमा जुटेको एक नेताले जानकारी दिए । उनका अनुसार देउवालाई मत दिन वा नदिने भन्नेमा नेपाल समूहमा विवाद देखिएको छ ।

    नेपाल पक्षबाट यसअघि विवाद समाधान कार्यदलमा रहेका सदस्यहरूले देउवाले अचानक विश्वासको मत लिने भनी निर्णय गरेकोप्रति आशंका व्यक्त गरेका छन् । पार्टी एकताका लागि प्रयत्न भइरहेका बेला यस्तो निर्णय गरेर देउवाले एमाले विभाजन गर्न खोजेको उनीहरूको आरोप छ । कार्यदल सदस्यहरू नेता नेपाललाई भेट्न आइतबार उनको कोटेश्वरस्थित निवास पुगेका थिए ।

    यसअघि शुक्रबार बसेको प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

    यसैबीच ओली पक्षका कार्यदल सदस्य शंकर पोखरेलले ‘नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गएको’ बताउनुभएको छ । आज बिहान नेपाललाई भेटेर फर्किएलगत्तै पोखरेलले सामाजिक सञ्जालमा यस्तो उल्लेख गर्नुभएको हो ।

    यता, एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गर्नुभएको छ ।
    भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आज विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै दिने उल्लेख गर्नुभएको छ ।

    ‘‘म एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उहाँले भन्नुभएको छ, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’

    त्यस्तै, एमालेकै सांसद रामकुमारी झाक्रीले पनि देउवालाई नै विश्वासको मत दिने बताउनुभएको छ । उहाँले यसअघि देउवाको पक्षमा हस्ताक्षर गरेका २३ जना सांसदले नै विश्वासको मत दिने दाबी गर्नुभएको छ ।

    यसैबीच, एमालेले प्रधानमन्त्री देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

    बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

    यता, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

    प्रधानमन्त्रीले विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिनुभयो ।

    ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।

    बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्नुभएको थियो ।


    आइतवार, श्रावण ३ २०७८०२:१८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij