काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौाँ तीन–तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सरकारले उनीहरु काठमाडौँका रहे पनि बसोबस गरिरहेको क्षेत्रबारे भने कुनै जानकारी दिएको छैन । काठमाडौँका ८ सहित नेपालभर थप १३० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५४४० पुगेको छ ।
गत चौबिस घण्टामा ७५ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । हालसम्म १३१२८ जना संक्रमण मुक्त भएका छन् । सरकारले लकडाउन खुले पनि नेपालमा कोरोना संक्रमणको दर नबढेको दाबी गरेको छ ।
विज्ञहरुले लकडाउन खोलेपछि संक्रमणको दर बढ्नेमा चिन्ता व्यक्त गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण नबढेको बताएको हो ।
लकडाउन खुल्नु भन्दा पाँच दिन अघि र लकडाउन खुलिसकेपछिका पाँच दिनको तथ्याङ्क हेर्दा खासै अन्तर नदेखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमले बताए । लकडाउन खुले पनि कोरोना संक्रमणको दर भने खासै नबढेको उनको दाबी छ ।
उनले भने ‘लकडाउन खुल्नुभन्दा अगाडिका पाँच दिनमा औषत संक्रमणको दर ३.२ थियो भने लकडाउन खुलिसकेपछिका पाँचदिनमा संक्रमणको दर ३.३ छ यसमा खासै अन्तर आएको देखिँदैन ।’