काठमाडौं– इटालीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । इटालीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जियानलुइजी डोन्नारुम्मा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

इटालीले गएराति फाइनलमा घरेलु टोली इंल्याण्डलाई पेनाल्टीसुट आउटमा पराजित गर्दा डोन्नारुम्माले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३–२ ले पराजित गरेको हो ।
त्यस्तै, पोर्चुगलका कस्तान क्रिस्टियानो रोनाल्डो युरोकप २०२० को सर्वाधिक गोलकर्ता बनेका छन् ।

साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोल रएक असिस्टसहित गोल्डेन बुट जित्न सफल भएका हुन् । उनले समूह चरणमा ३ खेलबाट ५ गोल गरेका थिए ।
चेक रिपब्लिकका प्याट्रिक सिकले पनि रोनाल्डो समान पाँच गोल नै गरेका थिए । तर रोनाल्डोले एक असिस्टसमेत गरेकोले उनी अघि रहे ।
रोनाल्डोले समूह चरणमा हंगेरी र फ्रान्सविरुद्ध २–२ तथा जर्मनीविरुद्ध १ गोल गरेका थिए ।

त्यसैगरी, स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पु¥याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । १८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे ।