काठमाडौं – चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबल प्रतियोगिताकोे उपाधि जितेको छ ।
ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो ।
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो ।

रोड्रिगो डे पाउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।
सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिना पटक–पटक फाइनलमा पुगे पनि उपाधि भने उसले जित्न सकेको थिएन ।

वर्तमान् कप्तान लियोनल मेसीका लागि पनि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । यसअघि चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि उनको टिम अर्जेन्टिना उपाधिबाट बिमुख भएको थियो ।
२००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

त्यसैगरी, सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फाइनलमा मेसी नेतृत्वको अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । यससँगै विश्वकै 'सर्वोत्कृष्ट फुटबलर' मेसीको अन्तर्राष्ट्रिय उपाधिमा खडेरी लागेको थियो । त्यो खडेरी आज आयोजक ब्राजिललाई पराजित गर्दै तोडिएको छ ।