काठमाडौँ – पूर्व घोषणा बमोजिम विवाद समाधानका लागि भएको सहमति घोषणा गर्न एमाले कार्यदल आज पनि असफल भएको छ।
यद्यपि भोलि सहमतिलाई अन्तिम रुप दिएर सुखद समाचार सञ्चार गर्ने दाबी नेताहरुले फेरि पनि गरेका छन्।
केही दिनदेखि सहमति अन्तिम टुंगोमा पुगिसकेको र भोलि सार्वजनिक गर्ने घोषणा नेताहरुले गर्दै आएका थिए।
हिजो ८ घण्टासम्म चलेको वार्तापछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एकताको घोषणा हुने दाबी गर्नुभएको थियो।
तर आज निर्धारित समय भन्दा तीन घण्टा ढिलो बसेको बैठकले सहमतिलाई अन्तिम रुप दिन सकेन।
बैठकपछि कार्यदल सदस्य गोकर्ण विष्टले आजै सहमति घोषणा गर्ने प्रयासलाई सफल पार्न आफूहरुले नसकेको बताउनुभयो ।
तर भोलि एमाले विवाद समाधानको सहमति घोषणा हुने उहाँको दाबी छ।
एमाले विवादका अरु विषयहरुमा लगभग कुरा मिले पनि संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा बुझाइएको हस्ताक्षरबारे कुरा मिलिरहेको छैन।
अदालतमा बुझाइएको हस्ताक्षरबारे सहमतिमा प्रयोग हुने भाषा र शब्दाबलीमा कुरा नमिल्दा सहमतिको अन्तिम टुंगो लाग्न नसकेको भनिएको छ।
यता कार्यदल वार्तामै रहेका बेला विपक्षी गठबन्धनका नेता प्रचण्डसँग माधव नेपालको भेटवार्ताको सिलसिला नरोकिएपछि अविश्वासको खाडल पुरिन सकेको छैन। आज कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्ड र नपालको भेटवार्ता चलेको थियो।
उक्त भेटले अविश्वास बढाएपछि नेपालको सचिवालयले बिरामी नेता नेपाललाई भेट््न प्रचण्ड निवास आइपुगेको भन्दै हास्यास्पद स्पष्टीकरण दिएर विज्ञप्ति जारी गरेको छ।
कार्यदल सदस्य विष्टले पनि बिरामी नेता नेपाललाई भेटेर प्रचण्डले स्वास्थ्य लाभको कामना गर्नुलाई ठूलो विषय बनाउन नहुने बताउनुभयो।
तर एमालेको संस्थापन समूहले भने नेता नेपालसँग प्रचण्डको आजको भेटवार्तालाई सहज रुपमा लिएको छैन।
वार्ता भाँडिन सक्ने भएपछि माधव नेपालको सचिवालयले प्रचण्ड स्वास्थ्य लाभको कामना गर्न निवास आएको हाँस्यास्पद वक्तव्य सार्वजनिक गरे पनि सोही भेटकै कारण आज सहमतिको घोषणा हुन नसकेको अनुमानहरु पनि भैरहेका छन्।
सचेतक विशाल भट्टराईले एमाले मिल्न लाग्दा प्रचण्डमा छटपटाहट पैदा भएपछि नेपाल निवासमा दोडधुप चलेको बताउनुभयो।
एमाले कब्जा गर्ने प्रचण्डको सपना केपी ओलीको बुद्धिमताले असफल भएको बताउँदै उहाँले एमालेको सानो टुक्रा भए पनि लैजान्छु भन्ने प्रचण्डको योजना सफल हुन नदिइने बताउनुभयो।
माधव नेपाललाई भेटेर प्रचण्डले केपी ओलीबाट फेरि पनि धोका हुने भन्दै विपक्षी गठबन्धनबाट नबाहिरिन आग्रह गरेकोे श्रोतको दाबी छ।
जवाफमा नेता नेपालले आफूहरु छलफलमै रहेको बताएको श्रोतले जानकारी दियो।
एमाले एकता भए गठबन्धन भत्किने भयमा रहेका प्रचण्डले माधव नेपालपछि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभयो।
देउवा निवासमा भएको भेटवार्ता पनि विपक्षी गठबन्धनलाई कसरी कायम राख्ने भन्ने विषयमा नै केन्द्रित रहेको श्रोतले बताएको छ।