काठमाडौँ – नेकपा एमालेभित्र एकताका लागि निर्णायक कसरत चलिरहँदा विपक्षी गठबन्धनमा भुइँचालो गएको छ।
एमालेबाट माधव समूहका नेताहरुले विद्रोह गरेपछि जन्मेको विपक्षी गठबन्धनका नेताहरु माधव समूहबाटै धोका हुने देखिएपछि तनावमा छन्।
एमाले एक ठाउँमा उभिए विगतमा आन्दोलनका रुपमा जन्मेको गठबन्धन स्वतः खारेज हुने नेता भीम रावलको घोषणाले गठबन्धनमा भुइँचालो गएको हो।
आज बिहान नेपाली रेडियो नेटसर्वसँगको अन्तर्वार्ताका क्रममा रावलले एमाले एकता भए विपक्षी गठबन्धन स्वतः खारेज हुने घोषणा गर्नुभएको थियो।
प्रधानमन्त्री केपी ओली स्वच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै एमालेका २३ जना सांसदले विद्रोह गरेपछि कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धन जन्मेको थियो ।
यो गठबन्धनले संसद विघटन बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालय र सर्वाेच्च अदालतमा हस्ताक्षर बुझाएको छ ।
तर अहिले पार्टी एकतावद्ध हुने सम्भावना बढेसँगै एमालेको विद्रोही समूहले गठबन्धनलाई धोका दिने भय विपक्षी नेताहरुमा छ ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्ने अभियान नसकिँदै गठबन्धनलाई विश्राम दिनु राजनीतिक इमान्दारिता नहुने बताउनुभयो।
प्रमुख विपक्षी नेपाली कांग्रेसले भने गठबन्धनलाई धोका हुने वा नहुने भन्दा पनि मुद्दाको विषय ठूलो हुने बताएको छ ।
सहमहामन्त्री डा. प्रकाश शरण महतले संविधानको रक्षाका लागि कांग्रेस अग्रसर बनेको र केपी ओलीको प्रतिगमनकारी कदम आफूहरुलाई पनि ठिक नलागेको भन्दै माधव समूहले त्यसमा साथ दिएको उल्लेख गर्दै अहिले मुद्दाबाट पछि हट्नु बिडम्वनापूर्ण हुने बताउनुभयो ।
तर माधव समूहबाट धोका हुनेमा आफूहरुलाई विश्वास नहरेको उहाँले बताउनुभयो ।
यता एमाले माधव समूहका नेता रावलले भने कुनै पार्टी एकतावद्ध हुने कुरालाई धोकाका रुपमा बुझ्न नहुने बताउनुभयो ।
विपक्षी गठबन्धनबाट बाहिरिनुपर्ने अवस्था आए पनि आफूहरुबाट कसैलाई अन्याय नहुने उहाँले जिकिर गर्नुभयो ।
आफूहरुले प्रतिनिधिसभा जोगाएर संविधानको रक्षाका लागि नै पार्टीमा संघर्ष गरेको रावलले बताउनुभयो । त्यसैले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट फिर्ता हुने विषयलाई अन्यथा बुझ्न नहुने उहाँले बताउनुभयो।
हुन त एमाले एकताको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई कुनै हालतमा धोका दिन नसकिने अडान लिएपछि सहमति जुट्न नसकेको बताइएको छ।
ओलीले विपक्षी गठबन्धन भत्काउन मात्रै अहिले लचकता देखाएको तर स्वार्थ पूरा हुनेबित्तिकै आफूहरुलाई फेरि धोका हुने बुझाई नेता नेपालको रहेको चर्चा राजनीतिक वृत्तमा छ।
तर ओली समूहबाट विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले बाहिरी हल्ला निराधार रहेको दाबी गर्नुभयो।
एमाले एकताका लागि अहिले जे भइरहेको छ त्यो सबै ठिक रुपमा अघि बढिरहेको उहाँले दाबी गर्नुभयो।
माधव नेपाल समूहबाट कार्यदल सदस्य रहनुभएका नेता गोकर्ण विष्टले पनि विवाद समाधानका लागि हिजो भन्दा आज प्रगति हुँदै गएको दाबी गर्नुभयो।
केही बुँदाहरुमा स्पष्टता खोज्ने प्रयास भैरहेकोले छिट्टै एमाले एकतावद्ध हुने विश्वाश उहाँले व्यक्त गर्नभयो।
संसद विघटन सम्बन्धी मुद्दाको फैसला आगामी असार २८ गते आउने सम्भावना छ।
त्यसअगाडि नै एमालेलाई एकतावद्ध बनाउने र संसद विघटन सम्बन्धी जस्तोसुकै फैसला आए पनि दुवै समूहले हार्दिकतापूर्वक स्वीकारेर अघि बढ्ने गरी सहमति जुटाउने प्रयास एमालेमा भइरहेको छ।
तर सर्वाेच्चको फैसला र त्यसपछिको राजनीतिक परिस्थितिमा ओलीले आफूलाई फेरि पनि धोका दिन सक्ने भय माधव नेपालमा कायमै छ।