काठमाडौं – जारी युरोकप २०२० अन्तर्गत आज मधयराति दोस्रो सेमिफाइनल खेल हुँदैछ । फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र डेनमार्क भिड्दैछन् ।
इङ्ल्याण्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्ड र सन् १९९२ को युरोकप विजेता डेनमार्कबीचको आजको खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
इंग्ल्याण्ड र डेनमार्क दुवैका लागि यो प्रतियोगिता आ–आफ्नो तरिकाले विशेष बनेको छ । समूह चरणको पहिलो खेलमा नै ड्यानिस सुपरस्टार क्रिस्टियन एरिक्सन मैदानमा अचेत अवस्थामा पुगेका थिए । हृदयघातका कारण मैदानमा ढलेका एरिक्सनको दुःखद घटना पश्चात् डेनमार्कले उनका लागि यस प्रतियोगिताका बाँकी खेल खेल समर्पण गर्ने निधो गरेको थियो ।
त्यसपश्चात् डेनमार्कको प्रदर्शनीले साँच्चै सबैलाई अचम्मित बनाएको छ । सुरुवाती दुई हारेर पनि त्यपछिका सबै खेल ज्तिदै सेमिफाइनलमा पुगेको छ । डार्कहर्स मानिएको डेनमार्क अब दाबेदार मानिएको घरेलु टोली इंग्ल्याण्डलाई चुनौती दिन चाहन्छ ।
उता सन् १९६६ विश्वकप फाइनलपछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल पुग्न नसकेको इङ्ल्याण्डले घरेलु मैदानमा पहिलोपटक फाइनलमा पुग्न चाहन्छ । इंल्याण्ड हालसम्म युरोकपको फाइनलमा पुग्न सकेको छैन । यसर्थ, योपटक इंग्ल्याण्ड इतिहास रच्न चाहन्छ । यसका लागि उ तयार पनि देखिन्छ ।
क्वार्टरफाइनलमा युक्रेनविरुद्ध ४–० गोलको जित दर्ता गरेको इंग्लिश टोलीले यस प्रतियोगितामा कुनै पनि गोल खाएको छैन ।
अधिकांश फुटबल पण्डितहरुले आज डेनमार्कमाथि जित निकाल्दै इंग्ल्याण्ड पहिलोपटक फाइनलमा पुग्ने अनुमान गरेका छन् ।
यता, डेनिस टोली भने अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ । आफूहरु जितको हकदार रहेको डेनिस गोलकिपर केस्पार सुमाइकलले बताइसकेका छन् ।
आजको विजेताले फाइनलमा इटालीको सामना गर्नेछ ।