Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
एमाले विवाद

‘केपी ओली र माधव नेपालमा छुट्टिएर रहने हिम्मत देखिएन’

‘केपी ओली र माधव नेपालमा छुट्टिएर रहने हिम्मत देखिएन’

  • मंगलवार, आषाढ २२ २०७८

  • 1.1K
    SHARES

  • ‘केपी ओली र माधव नेपालमा छुट्टिएर रहने हिम्मत देखिएन’

    काठमाडौँ – नेकपा एमालेको एकताका लागि विवाद समाधानको सूत्र खोज्ने प्रयासले तीव्रता पाएको छ ।

    विवाद समाधान गर्न गठित कार्यदल ब्यूँतिएसँगै एकताको सूत्र खोज्ने क्रमले तीव्रता पाएको हो । तर लगातार दोस्रो दिन बसेको कार्यदलको बैठकमा ठोस प्रगति नभएको संकेत नेताहरुले गरेका छन् ।

    आज बसेको बैठकपछि बाहिरिने क्रममा कार्यदलका सदस्यहरुले समाधानकोे सूत्र खोज्न समय लाग्ने प्रतिक्रिया दिएका छन् ।

    कार्यदल निश्क्रिय हुँदा पनि एकताका लागि लगातार संवादमा रहनुभएका नेता गोकर्ण विष्टले आजको बैठक सकारात्मक दिशामा अघि बढेको बताउनुभयो । तर पार्टीमा उत्पन्न विवाद समाधानका लागि समय लाग्ने उहाँले बताउनुभयो ।

    माधव समूहका तर्फबाट विवाद समाधान कार्यदलका संयोजक भीम रावलले पनि आजको बैठकमा ठोस प्रगति नभएको तर बहस सकारात्मक मोडतर्फ अघि बढेको संकेत गर्नुभयो ।

    आजको बैठकमा सबै सदस्यहरुले आ–आफ्नो सुझाव व्यक्त गरेको र भोलि फेरि छलफल हुने जानकारी उहाँले दिनुभयो । संयोजक रावलले आजको आजै टुंगोमा पुग्ने सम्भावना भने कमै रहेको बताउनुभयो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र माधव समूहमा रहेका नेता भीम रावलबीच बालुवाटारमा छलफल भएपछि विवाद समाधान कार्यदल ब्यूँतिएर हिजो पहिलो बैठक बसेको थियो ।

    कार्यदल ब्यूँतिएपछि एमाले एकता कायम गर्न ठोस प्रगति भएको र आज ओली र नेपालले संयुक्त वक्तव्य सार्वजनिक गर्ने सम्भावना रहेको नेताहरुले बताएपछि कार्यकर्ता पंक्तिमा उत्साह छाएको थियो ।

    तर कार्यदल सदस्य रघुजी पन्तले संयुक्त वक्तव्यको विषयमा आफूहरु प्रवेश नै नगरेको बताउनुभयो ।

    संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने दिन नजिकिँदै जाँदा एमालेका दुवै समूहमा एकता कायम गर्नुपर्ने दबाब बढेको छ ।

    राजनीतिक विश्लेषक डा. लोकराज बरालले एक अर्कालाई निषेधको घोषणा जति गरे पनि छुट्टिएर रहने हिम्मत ओली र नेपाल दुवैमा नदेखिएको बताउनुभयो । उहाँले एमाले एक हुने सम्भावना बढेर गएको टिप्पणी गर्नुभयो ।

    यसअघि प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले सोमबार साँझ पाँच बजेसम्म सर्वाेच्चमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता नगर्नेहरु एमाले नरहने चेतावनी दिनुभएको थियो ।

    माधव समूहले पनि ओलीसँग आत्मसमपर्ण गर्नु भन्दा छुट्टै पार्टी निर्माण गरेरअघि बढ्ने बताउँदै आएको थियो ।

    तर दुवै समूहमा छुट्टिएर बस्न सक्ने हिम्मत नदेखिएपछि विपक्षी गठबन्धनमा दरार उत्पन्न हुने परिस्थिति निर्माण हुने देखिएको छ ।


    मंगलवार, आषाढ २२ २०७८०७:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij