काठमाडौं - युक्रेनविरुद्ध सहज जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डले युक्रेनविरुद्ध ४ ० को शानदार जित दर्ता गरायो । इंग्ल्याण्डलाई सहज जित दिलाउन कप्तान ह्यारी क्यानले दुई गोल गरे ।
इटालीमा भएको खेलमा इंग्ल्याण्डले सुरुवातमै अग्रता लिएको थियो । कप्तान केनले चौथो मिनेटमै गोल गर्दै इंग्ल्याडलाई अग्रता दिलाए । उनले रहिम स्टर्लिङको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
पहिलो हाफमा युक्रेनले केही आक्रमण बुनेको थियो तर गोल गर्न भने सकेन ।
दोस्रो हाफको सुरुवातमै इंग्ल्याण्डले पुनः आक्रामक खेल सुरु गर्यो । यसको परिणामतः ४६ औं मिनेटमै ह्यारी मग्वायरले गोल गर्दै टोलीलाई २ ० को अग्रता दिलाए ।

इंग्ल्याण्ड यतिमै रोकिएन । पुनः कप्तान केनले गोल गर्दै आफ्नो टोलीलाई ३ ० को स्थितिमा पुर्याए ।
त्यस्तै, सफ्टिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका जोर्डन हेन्डरसनले ६३ औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए । हेन्डरसनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
यस जितसँगै इंग्ल्याण्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको छ । यसअघि इंग्ल्याण्ड सन् १९९६ मा घरमै भएको प्रतियोगितामा सेमिफाइनलसम्म पुगेको थियो ।
त्यसअघि इंग्ल्याण्डले सन् १९६८ मा इटालीमा भएको युरोकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यो नै इंल्याण्डको हालसम्मको राम्रो रिजल्ट हो ।
इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग आफ्नो घरेलु मैदानमै प्रतिस्पर्धा गर्नेछ ।