काठमाडौँ । दार्चुलाको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले स्थानीय तहलाई मजबुत नबनाएसम्म संविधानमा परिकल्पना गरएको संघीयताको मर्म पूरा नहुने बताउनुभएको छ । उहाँले स्थानीय तहहरुप्रति संघ र प्रदेश सरकारको हेर्ने दृष्टिकोण नै सकारात्मकभन्दा बढ्ता नकरात्मक र हेपाहा प्रवृत्तिको रहेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा प्रमुख भट्टले भन्नुभयो, ‘जबसम्म स्थानीय सरकारलाई मजबुत बनाउनु पर्छ भन्ने सोच राख्ने नेतृत्व मुलुकले पाउँदैन, तबसम्म संविधानले परिकल्पना गरेको संघीयताको मर्म पूरा हुँदैन ।’ संविधानले नै निर्दिष्ट गरेको स्थानीय तहको कार्य क्षेत्रमा पनि संघ र प्रदेशले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
साथै नगर प्रमुख भट्टले विगत चार वर्षको अनुभवलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ को बजेटले पालिकाका सबै जनताको भावना र चाहनालाई सम्बोधन गरेको जिकिर गर्नुभयो । चालु वर्षमा कोरोनाले प्रभावित भएका बाँकी आयोजनाहरुलाई अघि बढाउँदै आगामी वर्षको बजेटमा समेटिएका नयाँ कार्यक्रमहरुलाई पनि कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
नगर प्रमुख भट्टसँग गरिएको कुराकानी सुन्नुहोस्