लण्डन । बेलायतमा १७ बर्ष अगाडि स्थापना भएको प्रतिष्ठीत संस्था Chitawan Aid Trust को उपाध्यक्षमा रघु दाहालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपालमा रहँदादेखि नै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय दाहाल २० बर्षदेखि बेलायतको लण्डनमा बस्दा पनि सामाजिक कार्यमा उत्तिकै क्रियाशिल हुनुभएको छ । बेलायतमा रोजगारीसँगै सम्पत्ति सम्वन्धी व्यवसाय गर्दै आउनु भएका दाहाल स्थापनाकालदेखि नै यस संस्थाको आजीवन सदस्य हुनुहुन्छ ।
लामो समयदेखि अरुलाई अवसर दिदै आफु पटक पटक सदस्यमा मात्रै सिमित रहेर संस्थाका हरेक क्रियाकलापमा सहयोगी बनेकाले अहिले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको दाहालले बताउनु भएको छ ।
उम्मेदवारी घोषणा गर्दै उहाँले लेख्नु भएको छ, “सधै निःस्वार्थ भावनाका साथ आर्थिक सहयोग गर्दै संस्थाको मर्म र गरिमालाई उच्च बनाउन पारदर्शि ढंगले पदलोभ र व्यक्तिगत स्वार्थभन्दा माथी रहेर सकरात्मक सोचका साथ भुमिका निभाएको कुरालाई सगर्ब प्रस्तुत गर्न चाहान्छु ।”
उहाँले पछिल्लो समय केहि व्यक्तिहरुले संस्थाप्रति गैरजिम्मेवार क्रियाकलाप गरेको, संस्थाका अग्रजहरुप्रति प्रतिषोधपूर्ण व्यवहार गरेको, संस्था कब्जा गर्ने नियतले अस्वभाविक तरिकाले सदस्यता वितरण गरेको, सहमती र सहकार्यको भावनालाई कुल्चेको र तीनै व्यक्तिहरु पटक पटक एउटै पदमा बसिरहन खोजेकोले आफुले उम्मेदवारी दिन लागेको स्पष्ट पार्नु भएको छ ।
उहाँले विगतमा जिम्मेवारी पाएर पनि कुनै ठोस योगदान गर्न नसकेका र अहिले फेरि दोहोरिन खोजेका व्यक्तिहरुलाई तपाईले विगतमा के गर्नु भयो र अहिले फेरि किन भनेर प्रश्न गरिदिन पनि क्याट युकेका सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले आफु एक व्यक्ति, एक पद, एक पटक भन्ने मान्यतामा विश्वास राख्ने भएकाले एक पटकका लागि मात्रै उपाध्यक्ष बन्न चाहेको उल्लेख गर्नुभएको छ ।
नयाँ उर्जा र उत्साह बोकेका युवाहरुलाई रोक्ने, संस्थालाई बिचल्लित गराउने समुहको औजारको रुपमा प्रयोग नभैदिन पनि उहाँले मतदाताहरुलाई अपिल गर्नु भएको छ ।
उपाध्यका उम्मेदवार दाहालले संस्थाको अग्रगामी बिकास, सामाजिक सेवाको विस्तार र सदस्यहरुको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
चितवनको पार्वतिपूरका स्थायी बासिन्दा रघु दाहाल अष्ट्रेलियाका लागि निर्वतमान राजदूत महेश दाहालका सहोदार भाइ हुनुहुन्छ ।
आइतबार हुने निर्वाचनका लागि दाहालको समूहबाट अध्यक्षमा रितेशराज पाण्डे, अर्काे उपाध्यक्षमा राजु आचार्य, महासचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा किशोर श्रेष्ठले पनि उम्मेदवारी दिन लाग्नु भएको छ । यो समूहलाई संस्थाका अधिकांश पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरु र अग्रजहरुको समर्थन रहेको बताइएको छ ।