काठमाडौं - भारतको दक्षिण मुम्बईस्थित आजाद मैदानमा रहेको मराठी पत्रकार संघ भवन को सभागृहमा एक भव्य समारोहका बीच संयुक्त नेपाली महासंघ रजि. मुम्बई को नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
सन् २०२६-२८ को दुई वर्षे कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष श्री पूर्ण कुँवरसहित १० जना पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
निर्वाचन अधिकृत श्री काशीराम पाण्डे र निर्वाचन सचिव डीबी रावलको सक्रियतामा निर्विरोध चयन भएको यस नयाँ टोलीमा उपाध्यक्षहरू रामलाल पन्थ र सीता काफ्ले, महासचिव भीमराज गैरे, कोषाध्यक्ष राज रावल लगायतका १० हस्तीहरू रहेका छन्।
नेपाल र भारतको राष्ट्रिय गानका साथ सुरु भएको उक्त कार्यक्रममा समाजसेवी, विभिन्न संघ(संस्थाका प्रतिनिधि, सल्लाहकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख सल्लाहकार भरत रावल, वरिष्ठ सल्लाहकार जगतबहादुर सिंह र सिगास टेलिभिजनकी डाइरेक्टर ललिता मलाती लगायतले नवनिर्वाचित टोलीलाई शुभकामना दिँदै प्रवासी नेपालीहरूको हकहितमा काम गर्न आग्रह गर्नुभयो।
हुड्केली नृत्य जस्ता मौलिक सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो भने मुम्बईका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले महासंघको यो नयाँ यात्रालाई ऐक्यबद्धता जनाएका थिए।
यस सफल शपथ ग्रहणसँगै महासंघले मुम्बईमा रहेका नेपालीहरूको सेवा र एकताका लागि नयाँ ऊर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।