काठमाडौँ – बाढीले क्षतिग्रस्त बनेको मनाङ सदरमुकाम चामेका स्थानीय बासिन्दाहरु बुधबारदेखि पुनः पानी पर्न थालेपछि थप त्रसित बनेका छन्।
यसअघि गएको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले चामे बजारमा ठूलो क्षति गरेको थियो।
केही दिन पानी पर्न रोकिए पनि बुधबारदेखि फेरि मनसुन सक्रिय भएर पानी पर्न थालेसँगै स्थानीय बासिन्दा त्रसित बनेका गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घलले बताए।
असार १ गते आएको बाढीबाट बिस्थापितहरुका लागि राहत तथा उद्धारको काम नसकिँदै फेरि पानी परेपछि स्थानीयमा त्रास बढेको उनले बताए।
असार १ गतेको बाढीले चामेमा १० वटा घर बगाएको छ भने त्यति नै संख्यामा घरहरु जोखिममा छन्।
सरकारी तथा निजी संरचनाहरुमा ठूलो क्षति पुगेको छ। पहिरो खसेपछि सडकहरु अवरुद्ध भएका छन्। पुलहरु बगेका छन्। मानिस पनि हिँड्न नसक्ने गरी सडक बिग्रेपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्नको समस्या हुन सक्ने सम्भावना छ।
तर गाउँपालिका अध्यक्ष घलेले हवाई मार्गबाट खाद्यान्नको आयात गर्न पहल गरिरहेको जानकारी दिए।
बाढीले ३२ किलोवाटको स्यार्क्यु खोला लघु जलविद्युत् आयोजनामा क्षति गरेपछि विद्युत् अवरुद्ध छ । विद्युत अवरुद्ध भएपछि मानिसहरुको दैनिकी निकै कष्टकर बनेको अध्यक्ष घलेले जानकारी दिए। विद्युत नभएपछि इन्टरनेट र मोबाइल तथा टेलिफोन सेवा पनि प्रभावित भएको उनले जानकारी दिए।
बिस्थापितहरुको स्थायी पुनर्स्थापनाका लागि समय लाग्ने उनले जानकारी दिए। पानी पर्न रोकिएपछि पुनस्थापनाको काम गरिने उनले बताए।
विद्युत अवरुद्ध हुँदा विकासे कामहरु पनि प्रभावित भएर बजेट फ्रिज जाने सम्भावना रहेको अध्यक्ष घलले बताए।
अध्यक्ष घलेसँग नेपाली रेडियो नेटवर्कको स्थानीय सरकार कार्यक्रममा गरिएको कुराकानी