काठमाडौँ – नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशनमा सभापतिका आंकाक्षी तीन जना नेताहरुले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भएका छन् ।
कांग्रेसमा विरासतमा राजनीति गर्दै आएका नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले १४ औँ महाधिवेशन सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका हुन् ।
आगामी शुक्रबार महामन्त्री शशांक कोइरालाको निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल तय भएको नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो । आज सिंहकै निवासमा भएको भेटवार्तामा यी तीन नेताहरुबीच केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय भएको हो ।
नेता सिंहले केन्द्रीय सदस्यहरुसँग छलफल गरिसकेपछि अघिल्लो महाधिवेशनमा सभापतिमा चुनाव लडेका नेताहरुसँग पनि परामर्श गर्ने समझदारी भएको जानकारी दिनुभयो ।
नेतात्रय निधि, कोइराला र सिंहबीच यसअघि पनि दुई पटक भेटवार्ता भएको थियो । पहिलो भेट बानेश्वरस्थित निधिको निवासमा भएको थियो भने दोस्रो भेट टोखास्थित महामन्त्री कोइरालाको निवासमा भएको थियो ।
अघिल्ला भेटहरुमा आशन्न महाधिवेशनमा मिलेर जाने समझदारी उनीहरुबीच भएको भनिएको छ । महामन्त्री शशांक कोइरालाले आफूहरु तीनैजना महाधिवेशनमा मिलेर जाने सम्भावना प्रवल रहेको दाबी गर्नुभयो ।
कांग्रेस भित्र अलग अलग गुटमा रहेका यी नेताहरु १४ औँ महाधिवेशन नजिकिँदै गर्दा नयाँ शक्ति समीकरण बनाउन कस्सिएका हुन् । कांग्रेसको परम्परागत समीकरण भत्काएर नयाँ समीकरण जन्माउने उनीहरुको दाबी छ ।
आफूहरुको भेटवार्ताले मात्रै पनि कांग्रेस नेता तथा कार्यकर्ताहरुबीच नयाँ उर्जा सञ्चार भएको दाबी नेता निधिको छ । लामो समयदेखि सभापति शेरबहादुर देउवाको साथमा रहेका निधिले नयाँ समीकरण जन्माउने आफूहरुको योजनालाई १४ औँ महाधिवेशनले अनुमोदन गर्ने दाबी गर्नुभयो ।
नयाँ समीकरण बनाएर अघि बढ्ने समझदारी नेतात्रयबीच भए पनि यसले सफलता पाउने सम्भावना भने क्षिण छ । सभापतिमा शेरबहादुर देउवाको विल्कपका रुपमा कसलाई अघि बढाउन भन्नेमै संस्थापन इतर समूहमा तीव्र मतभेद छ ।
संस्थापन इतर समूहभित्रै सभापतिका आकांक्षीहरु धेरै भएका बेला देउवा गुट त्यागेर आउने निधि सर्वस्वीकार्य पात्र बन्ने सम्भावना छैन । सभापतिका लागि कोइराला परिवारभित्र पनि मतभेद छ ।
अहिले सक्रिय बनेका तीन नेताहरुबीच पनि को सभापतिको उम्मेदवार बन्ने भन्ने विषय ओझेलमा छ । नेता सिंहले अहिले नै सभापतिको उम्मेदबार टुंगो लगाउन नसकिने बताउनुभयो । फल पाकेपछि मात्रै खाँदा मिठो हुने उहाँको तर्क छ ।
नयाँ समीकरण जन्माउने भनेर सभापतिका तीन जना आकांक्षी कस्सिएर लागेका बेला संस्थापन समूहबाट शेरबहादुर देउवाले पनि दोस्रो कार्यकाल सभापतिमा लड्ने तयारी थाल्नुभएको छ ।
निकट नेताहरुले निधिलाई फकाएर आफ्नै समूहमा मिलाउन सुझाव दिइरहे पनि देउवाले निधिलाई अब नफकाउने बरु पौडेल खेमाका प्रभावशाली नेताहरुसँग सहकार्य गर्ने रणनीति लिएको देखिन्छ । सभापतिमा लड्ने नेताहरुको चाहनालाई बञ्चिन नगर्ने तर आफू भने फेरि उम्मेदबार बन्ने उहाँले बताउनुभयो ।
कांग्रेसमा सभापति देउवाले दोस्रो कार्यकाल पनि लड्ने घोषणा गरेलगत्तै नेताहरु निधि, कोइराला र सिंहबीच लगातार भेटवार्ता भइरहेका छन् । यो सक्रियताले कांग्रेसभित्र नयाँ समीकरण जन्मिने दाबी उनीहरुले गरे पनि राजनीतिक विश्लेषकहरुले भने त्यस्तो सम्भावना नरहेको बताएका छन् ।
एक जना विश्लेषकले नेताहरुको यो सक्रियतालाई छटपटि मात्रै भन्न सकिने बताउनुभयो । नाम नबताउने शर्तमा उहाँले नेतृत्वका लागि तेस्रो पुस्ता आक्रामक ढंगले अघि बढेका बेला दोस्रो तहका नेताहरुमा छटपटाहट पैदा भएको र त्यसैको नतिजास्वरुप निधि, कोइराला र सिंहबीच भेट बाक्लिएको बताउनुभयो ।