काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना राजनीतिक सहयात्रीहरुप्रति अशोभनिय र अभद्र टिप्पणी गर्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाप्रति ओलीले घृणायुक्त अभिव्यक्ति दिनुभएको हो ।
मदन भण्डारीको ७० औँ जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले गालीको पुराण नै सुनाउनुभएको हो ।
प्रधानमन्त्री ओलीको आक्रोश देउवा, दाहाल र नेपालसम्म मात्रै सीमित भएन, उहाँले सर्वाेच्च अदालतप्रति पनि निशाना साध्नुभयो ।
एमाले असन्तुष्ट समूहको नेतृत्व गरिरहनुभएका माधवकुमार नेपाललाई ओलीले लाजशरम पचेको मान्छेको उपमा दिनुभयो ।
उहाँले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न आफूलाई बहुलाहा कुकुरले टोकेको छ र भन्दै प्रश्न पनि गर्नुभयो ।
दुई दिनअघि आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई विपक्षी गठबन्धन भत्काएर प्रधानमन्त्री बन्न प्रस्ताव आएको खुलासा गर्नुभएको थियो ।
तर आफू पदका लागि धोका दिने मानिस नरहेको बताउँदै नेपालले केपी ओलीसँग सहकार्य सम्भव नरहको बताउनुभएको थियो ।
नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा गरेपछि ओलीले उहाँप्रति छुद्र टिप्पणी गर्नुभएको हो । सम्बोधनका क्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त झन छेपारोको संज्ञा दिनुभयो ।
कुनै बेला मिडियाले नेताहरुलाई आदर नगरेको गुनासो गर्ने ओलीले दुई पटक प्रधानमन्त्री भैसक्नुभएका प्रचण्डप्रति निम्नस्तरको भाषा प्रयोग गरेर आलोचना गर्नुभयो । प्रचण्डले देश बरबाद पार्न खोजेको ओलीको आरोप थियो ।
आफ्नै पार्टीका नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष दाहालसँगै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि हमला गर्नुभयो । उहाँले कांग्रेसलाई प्रचण्डपथ अंगालेको आरोप लगाउनुभयो । कांग्रेसले प्रचण्डपथलाई शिरोपरी ठानेर अघि बढेपछि अदालतमा पनि प्रचण्डपथ लम्केको ओलीको आरोप छ ।
प्रचण्डपथ अंगालेको आरोप लगाएपछि कांग्रेसले प्रधानमन्त्री ओलीको प्रतिवाद गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले मुद्दाका हिसाबले राजनीतिक रुपमा सहकार्य भएको विषयलाई उत्तेजित पार्न नहुने बताउनुभयो । आफूसँग हुँदा सबै ठिक र आफूभन्दा बाहिर जाँदा सबै बेठिक ठान्ने प्रधानमन्त्रीको व्यवहार आपत्तिजनक रहेको उहाँले बताउनुभयो । राजनीतिमा विगत, वर्तमान र भविष्यलाई पनि आँकलन गरिनुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न आफूलाई बहुलाहा कुकुरले नटोकेको प्रधानमन्त्री ओलीको भाषणलाई रेकर्ड गरेर राख्न वरिष्ठ नेता नेपालले आग्रह गर्नुभएको छ ।
आज नागरिक समाजसँगको अन्तक्र्रियाका क्रममा नेता नेपालले आफूले पनि ओलीको उक्त भाषण खाजिरहेको बताउनुभयो ।
नेपालको राजनीतिमा नेताहरुले एक अर्कालाई अत्यन्त निम्न शैलीमा गाली गर्ने चलन नयाँ हैन । एक अर्कालाई अघिल्लो दिन गालीको वर्षा गर्ने र दोस्रो दिन अंगालोमा बेरिने नेपाली नेताहरुको खुबी छ ।
तर नेताहरुको यस्तो निच व्यवहारले समाज र राष्ट्रमा कस्तो असर पार्छ कसैले हेक्का राखेका छैनन् । भोलिका कर्णधार बालबालिकाहरुले पनि मेरो भाषण सुनिरहेका होलान् र उनीहरुको बालमष्तिष्कमा आफूले कस्तो प्रभाव पारिरहेको छु भन्ने कुराको बोध प्रधानमन्त्री भैसकेका नेताहरुमा पलाउन सकिरहेको छैन ।