काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढी आएको छ । गएराति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ इलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू गएराति आएको बाढीले बगाएका छन् ।
यसअघि गत मंगलबार आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा अर्बौको क्षति भएको थियो ।
यसैबीच, पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ ।
आज काठमाडौंबाट जाने विज्ञको टोलीले बाढी आउनुका कारणबारे अध्ययन गरेपछि मात्रै यसको कारण थाहा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।
मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।
यस्तै मेलम्चीमा बाढी प्रभावितलाई अस्थायी बास र राहतको व्यवस्था मिले पनि हेलम्बुमा राहत पुर्याउन कठिनाइ भएको छ ।
बाढीले सडकसँगको सम्पर्कविच्छेद गरिदिएपछि हेलम्बुमा हेलिकोप्टरबाट बहीबार र शुक्रबार केही राहत सामग्री खसालिएको थियो । तर, यो पर्याप्त नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार हेलम्बुका बाढी–पहिरोपीडित कसरी बसिरहेका छन् भन्नेबारे नै पत्ता लगाउन गाह्रो भएको छ ।