काठमाडौं – मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेकाहरुको उद्धार जारी छ ।
मेलम्ची खानेपानी आयोजना स्थलमा रहेका ३७ जना मजदुरको उद्धार गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । केही मजदुर घाइतेसमेत रहेकाले उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको उहाँको भनाइ छ ।
मेलम्ची बजारमा घर भत्कँदा पुरिएका दुई जना तथा होटलमा फसेका अन्य दुईको समेत उद्धार गरी सुरक्षित स्थलमा लगिएको छ ।
अविरल वर्षासँगै खोलामा पानी बहाव निरन्तर बढिरहेकाले अझै पनि खोला थुनिएको स्थानसम्म पुग्न नसकिएको बताउँदै खनालले घटनाको ययार्थ विवरण आउन केही समय लाग्ने बताउनु भएको छ ।
बाढीपछि मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। होटलमा थुनिएका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत आ विहान उद्धार गरिएको थियो ।
धेरैजना हराएको तथा बाढीमा फसेको बताइए पनि हालसम्म आठ जना हराएको पुष्टि भएको र एक जनाको शव भेटिएको उहँले जानकारी दिनुभयो ।
मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ ।
तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । मेलम्चीमा मंगलबार साँझदेखि बाढी आए पनि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो।
सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ।
उता, लमजुङमा दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।
आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले मंगलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिनुभयो। । एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ ।
‘स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०÷१२ घरमा र फलेनी माविमा राखिएको छ’, उहाँले भन्नुभयो, ‘कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन ।’