काठमाडौं –राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आसन्न हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै सभ्य र समाजले पचाउने खालका शब्द र दृश्य राखेर मात्र तीज गीत बनाउन सबै स्रष्टालाई आग्रह गरेको छ।
प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावमा खलल पुर्याउने तथा नियतवश अभद्र र दुईअर्थी अपाच्य शब्द प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगरिदिनुहुन अनुरोध गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी महासचिव सुवास केसी र विकृति विसंगति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालले संयुक्त विज्ञप्ति जारी गर्दै कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्यप्रति स्रोता तथा दर्शकहरुको गुनासो बर्सेनि आइरहेकाले आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै यस्तो अनुरोध गरिएको स्पष्ट पार्नुभएको छ।
‘कतिपय तीज गीतको नाममा देखिएका विकृति, विसंगति, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त स्रोताहरुको गुनासो बर्षेनि आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको विशेष ध्यान आकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक–गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवम् वितरकहरुका सामाजिक सद्भाव खलल् युर्याउने एवम् अभद्र र नियतवश दुईअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगरिदिनुहुन अनुरोध गर्दछौँ।’
