Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेको एकता खोज्न दोस्रो तहका नेताहरु छलफलमा

एमालेको एकता खोज्न दोस्रो तहका नेताहरु छलफलमा

  • मंगलवार, जेठ २५ २०७८

  • 1.1K
    SHARES

  • एमालेको एकता खोज्न दोस्रो तहका नेताहरु छलफलमा

    काठमाडौँ – नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् ।

    यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि आज दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो ।

    ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् ।

    आजको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् ।

    एमाले विभाजन भए आफूहरुको पनि राजनीतिक भविष्य सकिने भन्दै दोस्रो तहका नेताहरु एकताको पक्षमा लगातार संवाद गरिरहेका छन् ।

    दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहे पनि पछिल्ला राजनीतिक घटनाक्रमले एमालेलाई विभाजनतर्फ नै डो¥याइरहेको छ ।

    प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब एमाले पुनर्मिलन हुने सम्भावना सकिएको आशय व्यक्त गर्नुभएको छ ।

    उहाँले एकताका लागि जेठ २ को रटानको अध्याय सकिएको घोषणा गर्नुभयो । माधव समूहसँग एकता हुने असम्भव कोशिश छाड्नुपर्ने पनि उहाँको मत छ । थापाले माधव नेपालहरुले देखाइरहेको भाँडभैलो र जात्रा सैह्य नहुने चेतावनी दिनुभयो ।

    एमालेका दुई समूह जुट्न पनि नसक्ने र फुटको घोषणा गर्न पनि हतार नगर्ने रणनीतिमा छन् । विपक्षी गठबन्धनले ओली समूहविरुद्ध प्राप्त गरिरहेको सफलताले पनि माधव नेपालहरु ओलीसँग वार्ता भन्दा पनि संघर्ष नै गर्नुपर्ने मनसायमा देखिएका छन् ।

    एमालेका दुई समूहको गतिविधि हेर्दा अब के हुन्छ भन्ने आँकलन गर्न नै अप्ठ्यारो रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले बताउनुभयो । उहाँले एकता हुने सम्भावना तत्काल नदेखिएको र भैहाले पनि त्यसको आयू अत्यन्त छोटो हुने देखिएको बताउनुभयो ।

    माधव समूहले ७५ जेठ २ अघिको अवस्थामा फर्किए मात्रै एकता हुन सक्ने बटमलाइन प्रस्तुत गरेको छ । आइतबार राति ओलीले ६ बुँदे आह्वान गर्दै जेठ ३ पूर्वको अवस्थामा फर्कन तयार रहेको तर एकताका लागि सर्वाेच्चमा संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटबाट माधव समूहका सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सार्नुभएको थियो ।

    अध्यक्ष ओलीले शर्तसहित एकताका लागि गरेको ६ बुँदे आह्वान कपटपूर्ण रहेको निष्कर्ष निकाल्दै माधव समूहले खारेज गरेको थियो ।

     


    मंगलवार, जेठ २५ २०७८०८:१५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij