काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताउनुभएको छ । बिबिसी हिन्दीसँगलाई आज अन्तरवार्ता दिँदै उहाँले दुई देशबीच खुल्ला सीमाना रहेकाले भारतमा मात्र कोरोना नियन्त्रण गर्छु भनेर नहुने बताउनुभयो । महामारी नियन्त्रणको सवालमा नेपाललाई अन्य देशजस्तो व्यवहार नगर्न उहाँले भारतलाई आग्रहसमेत गर्नुभयो ।
‘खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतामा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन’, प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीप्रति लक्षित गर्दै भन्नुभयो, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’
आफ्नै हितका लागि पनि भारतले नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्ने ओलीको मोदीलाई सुझाव दिनुभयो । खोपलाई लिएर राजनीतिकरण नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।
विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहे पनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाइ छ ।