काठमाडौं - राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालले लोक तथा दोहोरी क्षेत्रका कलाकारहरुलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस महामारीका कारण केही महिनादेखि लोक तथा दोहोरी क्षेत्रका कलाकारहरु बेरोजगार भएकाले उनीहरुलाई परेको दुःखमा साथ दिन चामललगायतका अत्यावश्यक खाद्य सामग्री वितरणगरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले दुःख बाडेर बाच्ने कार्य आजबाट चरणबद्व रुपमा शुरु गरियो जानकारी दिँदै आपत्तिमा परेका सम्पूर्ण कलाकारलाइ सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ । उहाँले करिब ५ सय जना कलाकार सम्पर्कमा आइसकेको जानकारीसमेत दिनुभएको छ ।

‘यो महामारीको समयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिको दुःख बाडेर बाच्ने कार्य आजबाट चरणबद्व रुपमा शुरु गरियो’, उहाँले राहत वितरण गरिएका तस्बिर फेसबुकमा पोस्ट गर्दै लेख्नुभइको छ, ‘आपत्तिमा परेका सम्पूर्ण कलाकार साथीहरुलाई हार्दिक अनुरोध छ सम्पर्कमा आऊनका लागि । ५०० जति कलाकार साथीहरु सम्पर्कमा आएर नाम दर्ता गरिसक्नु भएको छ र आफ्नो भाग सुरक्षित गरिसक्नु भएको छ ।’

त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्सालले कुनै पनि लोक तथा दोहोरीगीतका कलाकार भोगले मर्न नपरोस् भन्ने हेतुले राहत वितरण कार्य सुरु गरेको बताउनुभयो ।
हालसम्म प्रतिष्ठानमा आबद्ध कलाकारहरु मात्र सम्पकैमा आएको नेपाली नेटवर्कलाई जानकारी दिँदै लोक तथा दोहोरीको क्षेत्रमा जीविकोपार्जन गर्ने सबै कलाकारलाई समेट्ने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

राहत कार्यमा उपत्यका समन्वय समितिका संरक्षक पृथ्वी थकालीको सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।