काठमाडौँ – नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहणलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने र त्यसकै लागि आफूहरु सरकारमा आएको बताएपछि मुलुकको राजनीतिमा हलचल मच्चिएको छ ।
महतोको यो अभिव्यक्ति संविधान विरोधी रहेको भन्दै उहाँको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको कायरतापूर्ण मौनताले मुलुकको अखण्डताप्रति झनै संशय पैदा भएको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ ।
शुक्रबार राति पदभार ग्रहण गर्ने क्रममा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्न आफूहरु सरकारमा आएको अभिव्यक्ति दिनुभएको थियो ।
नवनियुक्त उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्न सरकारमा आएको भन्दै दिएको अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । सत्ताधारी नेकपा एमालेकै शीर्ष नेताहरुले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आएको भन्दै निन्दा गरेका छन् ।
नेकपा एमालेका नेता गोकर्ण विष्टले महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताउनुभएको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतमले त पदभार ग्रहणलगत्तै बहुल राष्ट्रका लागि मुक्ति आन्दोलन गर्ने महतोको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी ओलीले अनभिज्ञता प्रकट गरेको देख्दा आफूलाई आश्चर्य लागेको बताउनुभएको छ ।
एमाले माधवकुमार नेपाल समूहको बैठकले महतोको अभिव्यक्तिबारे गम्भीर समीक्षा गरेको जनाएको छ । यो समूहका नेता भीम आचार्यले उपप्रधानमन्त्रीको अभिव्यक्तिबारे गम्भीर समीक्षा आफूहरुले गरेको र मुलुकको राजनीतिकलाई गलत दिशामा लैजान थालिएको निष्कर्ष निकालिएको जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई भड्खालोमा फसाउन खोजेको र बहुल राष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्री महतोको अभिव्यक्ति त्यससै उपज रहेको दाबी गर्नुभयो ।
मधेसवादी केही नेताहरु तराईँलाई नेपालबाट अलग गरेर भारतमा गाभ्ने डरलाग्दो योजनाका साथ अघि बढिरहेको र पछिल्लो घटनाक्रम त्यसकै पटाक्षेप रहेको केसीको दाबी छ । उपप्रधानमन्त्री महतोले आफ्नो लक्ष्य र उदेश्य जे हो त्यो नढाटेर नेपाली जनतालाई बताइदिएको केसीले बताउनुभयो ।
संविधानविद भीमार्जुन आचार्यले उपप्रधानमन्त्री महतोले संविधान विपरीत अभिव्यक्ति दिएको बताउनुभयो । नेपालको संविधानले बहुल राष्ट्रिय राज्यको परिकल्पना कहिँकतै नगरेकोले संविधानको शपथ खाएको व्यक्तिलाई बहुल राष्ट्र बनाउने भन्दै अभिव्यक्ति दिने अधिकार नरहने बताउनुभयो । महतोको अभिव्यक्ति अत्यन्त आपत्तिजनक र संविधान विरोधी रहेको उहाँले बताउनुभयो
तर उपप्रधानन्त्री महतो भने आफ्नो भनाइप्रति अडिग देखिनुभएको छ । उहाँले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आफ्नो भनाइलाई आज पनि दोहो¥याउनुभयो ।
आज आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि महतोले नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको दाबी गर्नुभयो । नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उहाँले बताउनुभयो ।
७२ सालमा नेपालको संविधान जारी हुँदा राजेन्द्र महतो लगायतका मधेसवादी नेताहरु सीमामा बसेर नाकाबन्दी गर्ने कार्यमा संलग्न थिए । गोली चलाएर जारी भएको संविधान नमान्ने भन्दै महतो लगायतले सडकमा संविधान जलाएका थिए । ती तस्बिरहरु अहिले सामाजिक सजालमा छरपष्ट पारिएका छन् ।