Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने स्वास्थ्य मन्त्रालयको चेतावनी, विज्ञले भने, ‘अनुमान मात्रै’

कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने स्वास्थ्य मन्त्रालयको चेतावनी, विज्ञले भने, ‘अनुमान मात्रै’

  • शुक्रवार, जेठ २१ २०७८

  • 2.0K
    SHARES

  • कोभिडको तेस्रो लहरमा बालबालिका बढी  प्रभावित हुने स्वास्थ्य मन्त्रालयको चेतावनी, विज्ञले भने, ‘अनुमान मात्रै’

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो र चौथो लहर पनि आउन सक्ने चेतावनी दिँदै कुल शय्याको २० प्रतिशत बालबालिकाको उपचारका लागि छुट्याएर राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको छ ।

    आज स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहर जस्तै तेस्रो र चौथो लहर पनि आउनसक्ने र त्यसबेला बालबालिका बढी संक्रमणमा पर्न सक्ने भन्दै अहिल्यैदेखि बालबालिकाको उपचारका लागि आवश्यक तयारीमा रहन अस्पतालहरुलाई निर्देशन दिएको हो ।

    अहिलेसम्म अस्पतालहरुमा युवा तथा प्रौढहरुको उपचार तयारी भइरहेको भए पनि अबको संक्रमणमा बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सम्पूर्ण अस्पतालहरुलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो ।

    नेपालमा कोरोना संक्रमणको तेस्रो लहरमा सबै भन्दा बढि जोखिम बालबालिलाई रहने सरकारको प्रक्षेपणलाई विज्ञहरुले भने अनुमान मात्रै भनेका छन् । जनस्वास्थ्यविद डा. शरद वन्तले विश्वका विभिन्न मुलुकहरुमा पनि यो अनुमानका आधारमा तयारी भइरहेको र नेपालले त्यसकै सिको गरेको हुन सक्ने बताउनुभयो ।

    कोरोना भाइरसले पहिलो चरणमा ज्येष्ठ नागरिक र दोस्रो लहरमा युवाहरुलाई बढि आक्रमण गरेको थियो । अब तेस्रो लहरमा बालबालिकालाई निशाना बनाउन सक्ने अनुमान विश्वभर गरिएको तर त्यसको कुनै वैज्ञानिक आधार भने नरहेको डा. वन्त बताउनुहुन्छ ।

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि भाइरसले कुन उमेर समूहलाई बढि प्रभावित पार्छ भनेर पहिल्यै प्रक्षेपण गर्न नसकिने बताउनुभयो । विगतमा ज्येष्ठ नागरिक र दृघरोगीलाई बढि प्रभाव पार्न सक्ने अनुमान विपरीत युवाहरुले कोरोना भाइरसबाट बढि दुःख पाएको यथार्त हाम्रा सामू रहेको बताउँदै उहाँले हरेक उमेरका व्यक्तिहरु जोखिममा पर्न सक्ने बताउनुभयो ।

    कोरोनाविरुद्धको खोप बालबालिका बाहेकका व्यक्तिहरुका लागि मात्रै तयार भएकोले खोप लगाउन नपाएका उनीहरुलाई संक्रमणको जोखिम बढि हुन सक्ने सम्भावना भने आफूले पनि देखेको डा. पुनले बताउनुभयो ।

    यसैबीच पछिल्लो पटक नेपालमा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ भने ८६६३ जना संक्रमणमुक्त भएका छन् ।


    शुक्रवार, जेठ २१ २०७८०७:४२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij