एजेन्सी - आगामी जुन ११ मा सुरु हुने युरोपियन च्याम्पियनसिप (युरो कप) फुटबल प्रतियोगिताका लागि स्पेनले अन्तिम टोलीको घोषणा गर्दा नियमित कप्तान सर्जियो रामोस टोलीमा परेनन् । पछिल्ला खेलहरुमा रामोसले आफ्नो क्लब रियल म्याड्रिडबाट खेल्न नपाएका कारण उनलाई टोली बाहिर राखिएको प्रमुख प्रशिक्षक लुइस एनरिकेले बताएका छन् । रामोस शारीरिक रुपमा पूर्ण फिट नभएको प्रशिक्षक एनरिकेको दाबी छ ।
यसैबीच, रामोसले पनि आफू शारीरिक रुपमा तयार नरहेको भन्दै प्रशिक्षकको निर्णय स्वीकारेका छन् ।।
‘पछिल्ला केही महिना मेमर लागि निकै कठिन रहयो । निकै फरक रहेको यस सिजन अहिले युरोनजिक आएर टुंगिएको छ । मैले निकै मिहिनेत गरेर रियल म्याड्रिड र स्पेनका लागि शतप्रतिशत् दिने प्रसास गरँे । तर सधैं आफूले चाहेको जस्तो नहुने रहेछ,’ रामोसले सामाजिक सञ्जालमा लेखेका छन् ।
रियल म्याड्रिडका कप्तानसमेत रहेका रामोसले राष्ट्रिय टोलीका लागि छनोट हुन नसक्नु दुःखद रहेको उनले बताएका छन् । साथै, उनले स्वास्थ्य सुधारेर स्पेनिस टिममा पुनरागमन गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
‘मलाई दुख लागेको छ कि मैले आफ्नो टोलीलाई धेरै सहयोग गर्न सकिन । स्पेनका लागि छनोट हुन नसक्नु निकै पीडादायी क्षण हो । तर अहिले मेरो अवस्थाअनुसार मैले विश्राम गर्नु नै उचित निर्णय हो । अब मेरो ध्यान पूर्ण फिट रहेर सदाझैं सानदार पुनरागमन गर्नेमा हुनेछ,’ उनले भनेका छन् ।
रामोसले आफ्ना सहकर्मी साथीहरुलाई युरो कपका लागि शुभकामना पनि दिएका छन् ।
‘देशको प्रतिनिधित्व गर्न नपाउँदा दुख लागेको छ । तर सधैं इमान्दार हुनुपर्छ । म आफ्नो सहकर्मी साथीहरुलाई युरोको लागि शुभकामना दिन चाहन्छु । म घरमा बसेर अर्को एक समर्थकका रुपमा टोलीको हौसला बढाउनेछु,’ उनले लेखेका छन् ।
रामोसले २०२०–२१ सिजनमा रियल म्याड्रिडका लागि २१ खेल मात्र खेले । त्यसमध्ये जनवरीमा घुँडाको शल्यक्रिया गरेपछि उनले २ खेलमा मात्र सुरुवात गरे । रामोसले पूर्ण रुपमा फिट हुन आफूलाई अझै केही समय लाग्ने बताएका हुन् ।
रामोस १७ वर्षदेखि स्पेनको पहिलो रोजाइमा खेल्दै आएका छन् । सन् २००४ को युरोयता लगातार मुख्य प्रतियोगिता खेल्दै आएका उनले एक विश्वकप र दुईपटक युरो जितेका छन् । उनले स्पेनको जर्सीमा १ सय ८१ खेल खेल्दै २३ गोल गरेका छन् ।