उपाध्यक्षका प्रत्याशी शेखर बजगाईँ ।
क्यालिफोर्निया - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) संयुक्त राज्य अमेरिकाको निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी गतिविधिले तीव्रता पाएको छ । विभिन्न पदका प्रत्यासीहरूबीच आ–आफ्नो पक्षमा माहोल सिर्जना गर्ने होडबाजी नै चलेको छ ।
कोरोना भाइरसको विश्वव्यापी प्रभावमध्ये संसारकै सबैभन्दा बढी मानवीय क्षति खेपेको मुलुक अमेरिकामा पछिल्लो समय यसको संक्रमण दर अप्रत्याशित रूपले घट्दै गएपछि सरकारी कार्यालय, सार्वजनिक स्थल र व्यापार व्यवसाय लगायत हरेक क्षेत्रमा चहलपहल बढेको छ । यससँगै यहाँका नेपाली समूदाय पनि आफ्नो हकहितका लागि नेतृत्व चयन गर्ने सिलसिलामा एनआरएनएको चुनावमा होमिएका हुन् ।
दुई वर्षे कार्यकालका लागि यही मे २९ (जेठ १५)मा हुन गइरहेको निर्वाचनले एनआरएनए अमेरिकाभरीको मूल नेतृत्वसहित प्रत्येक राज्यका लागि अलग–अलग प्रतिनिधि चयन गर्ने छ । यसैक्रममा क्यालिफोर्निया च्याप्टरमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका शेखर बजगाईँ अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएको विश्लेषण गरिएको छ ।
लामो समयदेखि सान फ्रान्सिस्कोमा बस्दै आएका बजगाँईको नेपालमा भने सुनसरीको इटहरीमा स्थायी बसोबास रहेको छ । सानै उमेरदेखि परदेशिएका उनी सामाजिक कार्य र मानवीय सेवामा निकै अग्रसर देखिन्छन् । हाल कोरोना संकटको मार खेपिरहेको मातृभूमि नेपालमा अमेरिकाबाट आफ्नो व्यक्तिगत र सामूहिक रूपमा समेत आर्थिक तथा लजिष्टिक सहयोग पठाएको बजगाईँको भनाइ छ ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरूका पिरमर्का र समस्यालाई आफूले नजिकबाट बुझेर अगाडि बढिरहेको बताउने बजगाँई भौतिक रूपले जताजहाँ रहेता पनि नेपाली समूदायको हितमा आफ्नो सदैव साथ, सहयोग र समर्पण रहिरहने प्रतिबद्धतासमेत अन्य व्यक्त गर्छन् ।
‘फुटेर होइन जुटेर, एक्लै होइन समूहमा’ भन्ने मूल नाराका साथ क्यालिफोर्नियाको लसएन्जलस्, सान्टा रोजा, हेवार्ड, बर्कली लगायतका सहरहरूमा आफ्नो समूहले चुनावी अभियान गरिसकेको बताउने उपाध्यक्ष पदका उम्मेदवार बजगाईँले यसक्रममा मतदाताहरूको व्यापक समर्थन, उत्साह र हौसला मिलेकोले पनि आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् । । उनको समूहमा अध्यक्षका उम्मेदवार विजय चौधरी हुन् । क्यालिफोर्नियामा करिब २ हजार १ सय मतदाता छन् ।
क्यालिफोर्नियामा बस्ने नेपालीबीचको एकतालाई मजबूत बनाउदै आफ्नो धर्म, संस्कार, परम्परा, रितिरिवाज र भाषाको जगेर्नामा लाग्ने, साथसाथै सबैमा सूचनाको सहज पहुँच पुगोस् भनेर संचार प्रविधि उपयोगलाई विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सधैंजसो चर्चाको केन्द्रमा रहने अमेरिकामा एनआरएनएको चुनावसमेत नेपालीहरूमाझ उत्साहपूर्ण रहने गर्दछ । आप्रवासीहरूको देश भनेर चिनिने अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ ।
अमेरिकाकै सबैभन्दा धेरै जनसंख्या एवम् वृहत अर्थतन्त्र भएको क्यालिफोर्निया च्याप्टरका लागि उपाध्यक्ष पदमा बजगाईँका प्रतिस्पर्धी प्रेम केसी र विष्णु खत्री छन् । एनआरएनए एनसिसी अमेरिकाको आसन्न निर्वाचनका लागि मूल नेतृत्व अध्यक्ष पदमा हालका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, कृष्ण लामिछाने र बुद्धिसागर सुवेदीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्रमा नेपाली समूदायका समस्या, संघको सदस्यता प्रणालीमा नयाँ विधि, सूचना प्रणाली, गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता, नेपालीहरुको राजनीतिक फोरम, ग्रुप इन्सुरेन्सजस्ता कुराहरूलाई प्राथमिकता दिएको देखिन्छ ।
(थापा अमेरिकामा बसेर पत्रकारिता गरिहनुभएको छ । उहाँ पूर्वसशस्त्र प्रहरी नायब निरीक्षकसमेत हुनुहुन्छ ।)