काठमाडौं । सरकारले लकडाउन हटेको घोषणा गरेसँगै आम नागरिकले हेलचेक्य्राइँ गरेकोभन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
लकडाउनले बन्द गर्नु नपर्ने क्षेत्रलाई पनि असर गरेकाले सरकारले लकडाउन हटाएको र आम नागरिकले अप्नाउनु पर्ने सतर्कतामा कमी हुन नहुने उनीहरुको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाभाइरस सर्ने खतरा अन्त्य भइनसकेकोले सतर्कता अप्नाउन पनि छोड्न नहुने बताउनुभयो ।
उहाँले सरकारले लकडाउन हटाएपनि संक्रमण फैलिन नदिन आफ्नो तर्फबाट गर्नु पर्ने कार्यहरु भने गरिरहने नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
यात्रा गर्दा, कार्यालयमा काम गर्दा, बाटोमा हिड्दा, भिडभाडमा जाँदा मास्क लगाउने, मानिससँग नछोइने, भौतिक दुरी कायम गर्ने, संभव भएसम्मका ठाउँमा नछुने, नाक मुखमा हात नलैजानेलगायतका सकर्तकता अप्नाउन चिकित्सकहरुको आग्रह छ ।
नेपालमा अहिलेसम्म करिब १८ हजार संक्रमित पत्ता लागेका छन् भने ४२ जनाले ज्यान गुमाइसकेका छन । गैरआवासीय संघ नेपालका अनुसार नेपालबाहिर रहेका १ सय ६० जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ ।
पछिल्लो समय संक्रमितहरूको संख्या उल्लेख्य रूपमा वृद्धि नभएको तथा निको हुनेको संख्या बढ्दै गएको र मृत्यु हुनेहरूको संख्या कम देखिएकोले धेरै जनाले यसलाई गम्भीर रूपमा लिन छाडेको जस्तो देखिँदै गएको छ ।
यी तथ्यांकलाई आधार मानेर हेलचेक्य्राइँ गर्न नहुने बरु अहिले पनि कोरोन भाइरसविरुद्धको लडाइँ पहिलेभन्दा अझ सशक्त पार्दै लैजानुपर्ने डा दिनेश न्यौपानेको भनाई छ ।
नेपालमा अहिले पनि ६ हजारभन्दा बढी सक्रिय संक्रमित छन । छोटो समयमै धेरै जनामा सर्ने रोग भएकाले तीनै संक्रमितहरुबाट एकाएक अरु हजारौमा यो रोग फैलिन सक्ने खतरा यथावत छ । त्यसैले संयमता र सतर्कताप्रति हेलचक्य्राइँ गर्न नहुनेमा धेरैले जोड दिएका छन् ।