काठमाडौं । आज सांकेतिक रुपमा रातो मछिन्द्रनाथको रथयात्रा सम्पन्न हुने भएको छ । कोरोना भाइरस महामारीका कारण योपटकको रथयात्रा पनि सांगेतिक मात्र हुने भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै दिउँसो करिब साढे २ बजेबाट रथयात्रा सुरु हुने आयोजकले जनाएका छन् ।
ललितपुरको पुल्चोकस्थित हाल रथ रहेको स्थानबाट मण्डफल्चा (सोह्रखुट्टे पाटी)सम्म सांकेतिक रुपमा रथ तानेर यसपटकको रथयात्रा टुंग्याउने तयारी गरिएको छ ।
करिब २५ मिटर रथ तानेपछि रथयात्रा सम्पन्न हुनेछ ।गत वर्ष लकडाउनको समयमा महिनौंसम्म रथयात्रा नहुँदा प्रहरी र स्थानीयबिच झडप भएको थियो । त्यसपछि नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको थियो । यसपटक पनि पहिला झै पाटीसम्म तानेर रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिने कार्यक्रम छ ।
रथ तान्नेहरुकोे पिसिआर परीक्षण गरिनुका साथै स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ । साथै रथयात्राको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका बन्द गरिने प्रहरलिे जनाएको छ ।
रथयात्रालाई मध्यनजर गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले रथ रहेको स्थान वरिपरि ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाएको छ।