Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई हटाउन हामीले राजीनामा नदिएर हुँदै भएनः माधव समूह

केपी ओलीलाई हटाउन हामीले राजीनामा नदिएर हुँदै भएनः माधव समूह

  • बुधवार, बैशाख २९ २०७८

  • 2.0K
    SHARES

  • केपी ओलीलाई हटाउन हामीले राजीनामा नदिएर हुँदै भएनः माधव समूह

    काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने निष्कर्ष निकालेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न आफूहरुले राजीनामा दिन लागेका माधव समूहका सांसदहरुले बताएका छन् ।

    श्रोतका अनुसार माधव समूहमा रहेका २० जना सांसदहरुको राजीनामा पत्र तयार भैसकेको छ । तर केही सांसदहरु राजीनामा दिने विषयमा फरक मत राखे पछि अन्तिम पाइला चाल्न रोकिएको छ ।

    माधव समूहका सांसद मेटमणि चौधरीले कम्युनिष्ट आन्दोलनलाई सखाप पार्ने अभियानमा लागेका केपी ओलीलाई सत्ताबाट निकाल्न अपरिहार्य रहेकोले सामूहिक राजीनामाको कठिन निर्णयमा आफूहरु पुगेको बताउनुभयो ।

    ‘लोकतन्त्रको रक्षाका लागि केपी ओलीलाई हटाउन हामीले राजीनामा नदिएर भएन’, चौधरीले भन्नुभयो ।

    माधव समूहका दुई जना प्रभावशाली नेताहरुले आज दिउँसै आफूहरु सामूहिक राजीनामा लागि तम्तयार भएको संकेत दिएका थिए । नेताहरु भीम रावल र घनश्याम भुषालले सामाजिक सञ्जालमार्फत ओली प्रवृत्तिलाइ परास्त गर्न सामूहिक राजीनामा दिने तयारी भएको संकेत दिएका हुन् ।

    नेता रावलले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भएकोले फेरि पनि अलोकतान्त्रिक कार्य गर्नबाट केपीलाई रोक्न आवश्यक रहेको र त्यसका लागि आफूहरुको राजीनामा उचित रहेको धारणा राख्नुभएको छ ।

    यस्तै नेपाल समूहका अर्का नेता घनश्याम भुसालले पनि आजै प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण गर्न नसकिने बताउनुभएको थियो । आफूहरु विद्रोहको बाटोमा रहेकाले आत्मसमर्णण नगर्ने उहाँको भनाई छ ।

    यसअघि राजीनामा दिन तयार नभएको भनिएका सांसदहरुले पनि गुटको निर्णय मान्न तयार रहेको प्रतिक्रिया दिएका छन् । समूह छोड्दा खरिदा बिक्री भएको आरोप लाग्ने भएकोले आफूले नेपाल समूहको निर्देशन मान्ने सांसद कलिला खातुनले बताउनुभयो ।

    हुन त माधव समूह भित्रै सामूहिक राजीनामाको विषयमा मतभेद छ । केही नेताहरु राजीनामा दिने कठोर निर्णयमा जान नहुने दबाब नेतृत्वलाई दिइरहेका छन् । तर राजीनामा नदिए ओली सत्तामै रहने र आफूहरु थप चेपवामा पर्ने निष्कर्ष माधव समूहमा निस्केको हो ।

    माधव समूहको नेतृत्वले अर्काे निर्वानसम्मै कांग्रेस माओवादी गठबन्धनमा रहने गोप्य सहमति गरेको पनि श्रोतको दाबी छ । नेता नेपालले उपनिर्वाचनमा अहिले राजीनामा दिएका सांसदहरुलाई जिताउने ग्यारेन्टी कांग्रेस र माओवादीसँग मागेको श्रोतले बताएको छ ।

    केपी ओलीलाई सत्ताबाट हटाउन माधव समूहसहितको गठबन्धन बनिरहेका बेला जनता समाजवादी पार्टीको ठाकुर–महतो समूह भने ओलीको निरन्तरताका पक्षमा लागेको छ । यो समूह प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा तटस्थ बसेको थियो ।

    विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिन ठाकुर र महतो बालुवाटार शीतल निवासतर्फ दौडधुप गरिरहेका छन् । तर माधव समूहका सांसदहरुले राजीनामा दिए ठाकुर महतोले जति प्रयास गरे पनि कांग्रेस माओवादीको गठबन्धन सरकार बन्न बाधा पुग्ने देखिँदैन ।


    बुधवार, बैशाख २९ २०७८०७:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij