काठामडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पीसीआर विधिबाट २० हजार ३६२ जनाको नमूना परीक्षण गर्दा ९ हजार २३८ जनामा र एन्टिजेन विधिबाट ४२४ जनाको परीक्षण गर्दा ६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनु भएको छ।
पछिल्लो २४ घन्टामा थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ३ हजार ९२४ जना रहेका छन् ।
सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ हजार २५० छन्। यस्तै, ललितपुरमा ४४८ र भक्तपुर जिल्लामा २२६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १६८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनु भएको हो । उहाका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार २५२ पुगेकोे छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।
हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन् । ५१७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । यस्तै, १ हजार २४१ जना आईसीयूमा उपचाररत रहेकोमा २५८ जना भेन्टिलेटरमा रहेका छन्।