काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताउनुभएको छ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताउनुभयो।
‘ओलीको विकल्प खोज्ने नै हो । पार्टीको निर्णय पनि त्यै छ । विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने हो’, बैठकमा देउवाले भन्नुभयो।
कांग्रेस सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताउनुभयो।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको बताउनुभयो।
‘२७ गते विश्वासको मत नपाएपछि ओलीले चुनाव गराउन पाउँदैनन् । संविधानले पनि ओलीलाई चुनाव गर्न दिँदैन । सरकार गठनको सबै कोर्स पूरा नभई चुनाव पनि हुँदैन’, देउवाले भन्नुभयो। ।
प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरु सक्रिय हुने भन्दै देउवाले ७६ (२)बमोजिमको गठबन्धन सरकारका लागि प्रयास भइरहेको बताउनुभयो।