काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
एमालेलाई ०७५ जेठ २ गतेअघिको संरचनामा फर्काउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सहमत नभए सामूहिक राजीनामा दिने तयारी माधव समूहमा रहेका सांसदहरुले गरेका हुन् ।
आफूहरूलाई पेलेरै जाने नीति लिए सामूहिक राजीनामा दिएर विश्वासको मत लिने प्रधानमन्त्रीको योजना असफल पार्ने गरी छलफल चलेको माधव समूहमा रहेका सांसद झपट रावलले बताउनुभयो । आफूहरुका लागि सामूहिक राजीनामाको विकल्प अरु विकल्पहरु भन्दा उत्तम रहेको उहाँले बताउनुभयो ।
नेताहरुबीच सामूहिक राजीनामाको विकल्पमा छलफल भए पनि आफूहरु अधिकतम लचकताका साथ पार्टी एकताका पक्षमा उभिन अन्तिमसम्म प्रयास गर्र्ने उहाँले बताउनुभयो । तर विश्वासको मतपछि यसै पनि कारबाहीको तयारी ओलीले गरिरहेकोले त्यसअघि नै राजीनामा दिन उत्तम हुने कोणबाट छलफल अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गर्नुभएको छ । तर यो बिचमा पार्टीलाई एकतावद्ध बनाउने दिशामा प्रधानमन्त्री नलागे वैशाख २७ अघि नै सामूहिक राजीनामा दिने गरी माधव समूहमा छलफल चलेको हो ।
यसैबीच प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विश्वासको मतमा केपी ओलीलाई फेल बनाउने निर्णय गरेको छ । कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको आज बसेको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मतबाट रोक्न अन्य दलसँग पनि पहल गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
यता नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आज बसको स्थायी कमिटि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारलाई समर्थन नरहको विषय यसअघि नै स्थापित भए पनि औपचारिकता पूरा गर्न भोलि समर्थन नरहेको पत्र अध्यक्ष प्रचण्डले पठाउने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
यसअघि प्रधानमन्त्री ओलीले पटक पटक समर्थन फिर्ता लिन सार्वजनिक रुपमा आग्रह गरे पनि माओवादी केन्द्र तयार थिएन । तर अहिले माओवादीले समर्थन फिर्ता नलिने बुझेपछि प्रधानमन्त्री आफै विश्वासको मत लिन तम्सनुभएको हो ।
कोरोना महामारीमा उपचार नपाएर नागरिकको जीवन गुमिरहेका बेला प्रधानमन्त्री ओली विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन किन तयार भए चासोको विषय बनेको छ ।