काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार पाँच सय (४५ सय) नेपाली स्वदेश फर्किने गरेका छन् ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उहाँले जानकारी दिनुभयो ।
मंगलबार संसदको महिला तथा सामाजिक समितिँंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले यस्तो बताउनुभएको हो ।
‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपाली घर फर्किरहेको देख्छौं । सबैभन्दा बढी चाप सुदूरपश्चिमतिर छ’, उहाँले भन्नुभयो ।
कोरोना महामारीलाई मध्यनजर गर्दै आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको राजदूत आचार्यको भनाइ छ ।
‘सकभर घर नगइदिनुस् भन्ने आग्रह छ । जाँदै–नजानुस् भन्न सक्दैनौं । महामारीमा आफन्त, बाबुआमा, छोराछोरीसँगै रहुँ भन्ने होला’, उहाँले भन्नुभयो, ‘तर, बाटोमै संक्रमण हुनसक्ने सम्भावना रहन्छ नजानुस् भनेर मात्रै आग्रह गर्ने गरेका छौं ।’
आचार्यले भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए ।