काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट मुक्त हुँदै ललितपुरको मेडिसिटी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज हुनुभएको छ ।
कोरोना संक्रमण भएपछि उहाँलाई आठ दिनअघि अस्पताल भर्ना गरिएको थियो । डिस्चार्ज भएर घर आउनासाथ उहाँले सामाजिक सञ्जाल (फेसबुक)मा लाइभ आएर कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको छ ।
यस्तो छ उहाँको भिडियो सन्देश :
आदरणीय दर्शकहरु । आठदिन मेडिसिटीमा उपचार गरेर म डिस्चार्ज भएर घर आएको छ । खुशी लागिरहेको छ । अस्पतालको सेवा राम्रो थियो । तर यो दुःखको घडिको हो ।
संसारलाई महासंकट पारेको र प्रलयको रुपमा आएको कोरोना कहरका बेला सबैलाई माया गरौं । सबैको हित सोचौं । केही छैन जिन्दगी ‘केही छैन’ । शरीर फलाम जस्तो लाग्थ्यो पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । तर हावा रहेछ सबै शरीरमा केही रहेनछ ।
त्यसैले कसैले पनि कसैलाई पोलिटिकल इख बिख पोखेर आफ्नो मनलाई फोहोर नबनाऔं, बिन्ती छ । सबैले सबैलाई राम्रो गरौं, भलाई सोचौं, केही फाइदा छैन वैमनस्यता राखेर । मनमा राक्षसीपन पलाउने होइन, भगवान पलाउनुपर्छ । यो हामी सबैलाई थाहा भएको कुरा हो मैले खाली सम्झाउन मात्रै खाजेको हो ।
यो कोरोनाले शरीर एकदमै गल्दो रहेछ । पहिलाको कोरोनाले इम्युनिटी पावर जिरो बनाउने रहेछ, तर इनर्जी रहिरहने रहेछ । तर अहिलेको कोरोना त्यसको ठीक उल्टो रहेछ । अहिलेको कोरोनाले इम्युनिटी रहने तर इनर्जी पावर जिरो । शरीरमा इनर्जी नै छैन । प्लेटको भात शुद्ध चम्चाले लिन नसकिने । मुखमा पु¥याउने त परको कुरा ।
मेरो परिवारका पाँचै जनालाई कोरोना संक्रमणले छोयो । परिवारका कसैलाई बाँकी राखेन । सबैलाई झ्पाप्पै पार्ने रहेछ । परिवारमा कसैले कसैलाई वास्ता गर्न सक्ने स्थिति थिएन । पानी तताएर दिने अवस्था थिएन ।
म आठदिन अस्पताल बसेर आए । मनमा भगवान् भएका छिमेकीहरु पाएर म आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु । मेरो परिवारका सदस्यहरुलाई उहाँहरुले ख्याल गर्नु भो । मिठोमिठो पकाएर खुवाउनुभयो । यस्तो सहयोग देशैभर हुनुपर्छ । सबैले सबैलाई प्रेमका आँखाले हेर्ने ।
सबै मिलेर कोरोनालाई जित्नुपर्छ । अरु त के भनौं र मास्क अत्यन्त जरुरी छ, मास्क लगाउनुहोला । असुरक्षित ठाउँमा नजानु होला । सामाजिक दूरी कायम गर्नुहोला । साबुन पानीले बेला बेला हात धुनुहोला ।