काठमाडौँ । कोरोनाबाट सङ्क्रमितलाई थप उपचार गर्न नसक्ने सरकारको घोषणाप्रति पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले कडा आपत्ति जनाउनु भएको छ ।
स्वास्थ्य सेवा विस्तारका लागि धेरै काम गर्न सकिने हुदाँ हुदै पनि सरकारले काम नगरेर सक्दीन भन्दै हात उठाउनुलाई उहाँले सरकारको आयोग्यताको संज्ञा दिनु भएको छ ।
सामाजिक सञ्जालहरुमा आज उहाँले लेख्नु भएको छ, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन । सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू यो लडाइमा हामी सक्दैनौँ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने ! यो आपत्तिजनक छ ।’
उहाँले महामारीसँग जुध्नका लागि आफुहरु सहयोग गर्न सधैँ तत्पर नै रहेपनि प्रधानमन्त्री र सरकारका उच्च अधिकारीहरुको अहंकार र अकर्मण्यताका कारणले सहकार्यको वातावरण बन्न नसकेको उल्लेख पनि गर्नु भएको छ ।
नेपाली काँग्रेसका सांसद समेत रहनु भएका नेता थापाले महामारी व्यवस्थापन गर्न धेरै कठिन रहेपनि असंभव भने नरहेको दावी गर्नु भएको छ । उहाँले अझै उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ रहेको बताउनु भएको छ ।
महामारी व्यवस्थापनका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।
उहाँले अन्त्यमा लेख्नु भएको छ, “प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।”
नेता थापाले महामारी व्यवस्थापनका लागि सवैसँग सहकार्य गर्ने वातावरण बनाउन र आफैले मात्रै सक्छु र आफैलै मात्रै जानेको छु भन्ने भ्रमबाट मुक्त हुन सुझाव पनि दिनुभएको छ ।